काठमाडौं । मोरोक्कोले फिफा विश्व कपअन्तर्गतको समूह चरणको खेलमा स्कटल्यान्डलाई १–० गोलले पराजित गरेको छ। खेलको दोस्रो मिनेट नपुग्दै भएको गोल नै मोरोक्कोको जितका लागि निर्णायक बन्यो।
खेल सुरु भएको ७२ औं सेकेन्डमै स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इस्माइल साइबारीले गोल गरे। उक्त गोलसँगै अफ्रिका कप अफ नेसन्स विजेता तथा विश्व वरीयताको पाँचौं स्थानमा रहेको मोरोक्कोले प्रारम्भिक अग्रता लिएको थियो।
पहिलो हाफको अन्त्यतिर स्कटल्यान्डले खेल बराबरी गर्ने उत्कृष्ट अवसर सिर्जना गरेको थियो। तर जोन म्याकगिनले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली निराश बन्यो। त्यसपछि पहिलो हाफ मोरोक्कोको १–० अग्रतासहित समाप्त भयो।
दोस्रो हाफमा स्कटल्यान्डले लगातार दबाब बनाए पनि मोरोक्कोको रक्षापङ्क्ति मजबुत देखियो। केही अवसर सिर्जना भए पनि स्कटल्यान्डले गोल गर्न नसक्दा मोरोक्कोले १–० को महत्वपूर्ण जित सुरक्षित गर्यो।
यो जितसँगै मोरोक्कोले दुई खेलबाट चार अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा आफूलाई बलियो बनाएको छ। यसअघि आफ्नो पहिलो खेलमा मोरोक्कोले ब्राजिलसँग १–१ को बराबरी खेलेको थियो।
स्कटल्यान्डले भने पहिलो खेलमा हैटीलाई १–० ले हराएको थियो। हाल स्कटल्यान्डको तीन अंक रहेको छ। समूह चरणको अन्तिम खेलमा मोरोक्कोले हैटीसँग प्रतिस्पर्धा गर्नेछ भने स्कटल्यान्डले ब्राजिलको सामना गर्नेछ।
