रुपन्देही । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा रुपन्देही प्रहरीले सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका–१२ स्थित एक घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विभिन्न मोबाइल एप्स र अनलाइन प्लेटफर्ममार्फत क्रिप्टोकरेन्सीको खरिद–बिक्री तथा वित्तीय कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले विनान्स, ओकेएक्स, इन्टोकनलगायतका क्रिप्टोकरेन्सी प्लेटफर्म तथा विभिन्न डिजिटल भुक्तानी एप्स प्रयोग गरी कारोबार सञ्चालन गरेको प्रहरीको दाबी छ।
पक्राउ पर्नेहरूमा ४९ वर्षीय सीओङ गुफु, ४३ वर्षीय हु गङ, ४५ वर्षीय ली छुयनी, ३६ वर्षीय सुन हुई, ३५ वर्षीय झाओ क्विचिन, ३१ वर्षीय छियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन्।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार, लगानी तथा विनिमयलाई गैरकानुनी घोषणा गरेको अवस्थामा विदेशी नागरिकहरूको संलग्नतामा सञ्चालन भइरहेको यस्तो गतिविधि फेला परेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
पक्राउ परेका सातै जनामाथि विद्युतीय कारोबार तथा प्रचलित कानुनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
