काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा वेश नक्टाझिजमा कार्यरत अधिकारीले कमला-ढल्केवर-बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारीसाधन सञ्चालनमा अवरोध सिर्जना गर्दै सेवाग्राहीसँग रकम माग गर्दैआएका थिए।
काम सहजरूपमा गर्न दिने नाममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीपछि अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा इन्स्पेक्टर अधिकारीले सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा सडक निर्माण कार्यमा प्रयोग भइरहेका सवारीसाधन रोक्ने, फिल्डमा माटो तथा ग्राभेल झार्न नदिने तथा विभिन्न बहाना बनाएर हैरानी दिने कार्यमार्फत उनले घुस मागेको पुष्टि भएको थियो ।
सोही आधारमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत ४० हजार रुपैयाँ बिगो कायम गर्दै सोही बराबर जरिवाना तथा कानुनअनुसार कैद सजायको मागसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
