काठमाडौं । प्रहरीले सोमबार दुई अत्याधुनिक पेस्तोल, गोली र म्यागजिनसहित तीन जनालाई बाफलबाट पक्राउ गरेको छ- जसले राजधानीमा अवैध हतियार नेटवर्क मौलाउँदै गएको गम्भीर संकेत गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लुका ३२ वर्षीय ‘झिल्के’ भनिने विकास शाही, मोरङ लेटाङ–४ घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय शाहिल तिवारी र नागार्जुन नगरपालिका–४ बाफलका ३३ वर्षीय जस्वन भनिने अश्विन राई छन्।
हतियार बरामदसँगै प्रहरीको अनुसन्धानले पक्राउ परेका जस्वन राई कुनै साधारण पात्र नभएको खुलासा भएको छ।
उनी २०७३ सालमा तत्कालीन अपराध महाशाखाले बबरमहलमा गरेको इन्काउण्टर प्रयासबाट ज्यान जोगाएर भाग्न सफल भएका व्यक्ति हुन्। त्यतिबेला एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले बबरमहलमा उनीमाथि इन्काउण्टर प्रयास गरेको थियो- तर उनी प्रहरीको घेराबाट उम्कन सफल भएका थिए।
राई खोटाङका स्थायीवासी हुन् र प्रहरी अभिलेख अनुसार उनी हाल जेलमा रहेका गुण्डानाइके समीरसिंह बस्नेत समूहसँग आबद्ध छन्। अपराधको लामो ‘ट्र्याक रेकर्ड’ बोकेका राईले २०७२ साउनमा कलंकीस्थित स्काई प्यालेस डान्स बारमा विश्वास सल्यानी र सुमित रेग्मीमाथि तरबार, बोतल प्रहार गरी घाइते बनाएका थिए।
सोही वर्ष कालीमाटीमा मनकामना माई यातायातका सञ्चालक पंकज शाहीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । राई मानिसलाई घाइते बनाई लुटपाट गर्न माहिर रहेको प्रहरी अभिलेखमा उल्लेख छ ।
प्रहरी अनुसन्धानले थप देखाएको छ- उनी जेनजी आन्दोलनका क्रममा लुटिएको हतियार नेटवर्कमार्फत प्रयोग, भण्डारण र ओसारपसारमा संलग्न रहेको आशंका छ।
काठमाडौं प्रहरीले चलाएको विशेष अपरेसनका क्रममा पक्राउ परेका तीन जनाको समूहबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका २ अत्याधुनिक पेस्तोल,३ ३ म्यागजिन, २ राउन्ड गोली, २ गोलीको खोका पनि बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरी स्रोतका अनुसार, हतियार सिरियल नम्बर ट्रेसिङले अवैध नेटवर्कको संरचना खुल्न सक्ने र राजधानी सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको देखाएको छ। पक्राउ परेका तीनै जनामाथि हतियार ओसारपसार तथा अवैध भण्डारण सम्बन्धी कसुरमा थप अनुसन्धान जारी छ।