काठमाडौं । पर्सामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेशनका क्रममा ३५० किलो गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका अन्तर्गत मिर्जापुर क्षेत्रबाट उक्त परिमाणको गाँजा फेला परेको हो। लागूऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो।
त्यसक्रममा शंकास्पद स्थानमा खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गाँजा कसले राखेको हो र यसको ओसारपसारमा को–को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान तथा संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको बताइएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई निरन्तर प्रभावकारी बनाउँदै यस्ता अवैध गतिविधिविरुद्ध कारबाहीलाई तीव्रता दिइएको जनाएको छ।
