काठमाडौं । सप्तरीमा तस्कर समूहको आक्रमणबाट नेपाल प्रहरीका सहायक निरीक्षक (असई) कुटिएका छन् ।
बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीस्थित नेपाल–भारत सीमा क्षेत्र दशगजा नजिक कपडा तस्कर समूहले आज बिहान करिब ४ बजे नेपाल प्रहरी टोलीमाथि आक्रमण गरेको थियो ।
स्रोतकाअनुसार सीमा स्तम्भ नम्बर २४३ नजिक तस्करी गतिविधिबारे सूचना पाएपछि पुगेको रामनगर कोदरकट्टी प्रहरी चौकीको टोलीमाथि तस्कर समूहले हातपात गरेको हो। त्यसैक्रममा प्रहरी चौकीका इन्चार्ज असई रामकुमार यादव कुटिएका हुन् ।
तस्कर समूहले भारतीय नागरिकसमेत बोलाएर प्रहरीमाथि आक्रमण गरेको स्थानीयको आरोप छ।
घटनाको वास्तविक कारण र संलग्न व्यक्तिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
साथै घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको बताइएको छ।
