कैलाली । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको नेतृत्व सम्हालेका छन्। उनले बिहीबारदेखि औपचारिक रूपमा प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा डीआईजी भट्टराईले प्रदेशको समग्र शान्ति सुरक्षा अवस्था, अपराधको वर्तमान प्रवृत्ति तथा प्रहरी जनशक्ति व्यवस्थापनका विषयमा जानकारी लिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमा अपराध नियन्त्रण र अनुसन्धानलाई अझ प्रभावकारी बनाइने बताएका छन्। साथै नागरिक तथा पीडितमैत्री, सहज, छिटो र गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे।
डीआईजी भट्टराईले सुशासन, मानवअधिकारको संरक्षण तथा प्रहरी संगठनभित्र अनुशासन, आचरण र व्यवहार सुधारलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आर्थिक अनुशासन र सुशासनलाई समेत कडाइका साथ कार्यान्वयन गरिने बताए।
त्यसैगरी लागूऔषध कारोबार, तस्करी, जुवातास तथा अन्य सबै प्रकारका गैरकानुनी गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रणका लागि योजनाबद्ध र प्रभावकारी ढंगले प्रहरी परिचालन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
पदभार ग्रहणका अवसरमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृत, महेन्द्रनगरस्थित नेपाल प्रहरीका विभिन्न कार्यालयका अधिकारी, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरूले डीआईजी भट्टराईलाई स्वागत तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
