जनकपुरधाम । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले मधेश प्रदेश प्रहरी कार्यालयको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका छन्।
हालै गृह मन्त्रालयको निर्णयअनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट मधेश प्रदेशमा सरुवा भएका डीआईजी अधिकारीले आज औपचारिक रूपमा कार्यभार ग्रहण गरेका हुन्।
जिम्मेवारी सम्हालेसँगै उनले मातहतका जिल्ला प्रहरी प्रमुख तथा प्रहरी कर्मचारीहरूलाई आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी निष्पक्ष, पारदर्शी र जनउत्तरदायी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।
डीआईजी अधिकारीले प्रदेशभित्र हुने आपराधिक गतिविधि, गुण्डागर्दी, भन्सार छली तथा अन्य अवैध क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारे।
साथै प्रहरी संगठनको गरिमा र विश्वसनीयता कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुशासित, आर्थिक रूपमा पारदर्शी तथा व्यावसायिक आचरणमा प्रतिबद्ध रहन निर्देशन दिए।
सीमावर्ती क्षेत्रमा हुने तस्करी, संगठित अपराध तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति अवलम्बन गरिने उनले बताए।
मधेश प्रदेशमा शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिने डीआईजी अधिकारीको भनाइ छ।
