दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय मैनापोखरीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) अच्युत गिरीलाई २०८३ साल जेठ महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गर्दै सम्मानित गरेको छ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भूपेन्द्र खत्रीले गिरीलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा छनोट गरी सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।
प्रहरी कर्मचारीको प्रभावकारी परिचालन तथा व्यवस्थापन, भन्सार चोरी–पैठारी नियन्त्रण, अपराध नियन्त्रण तथा अनुसन्धान, जनचेतना अभिवृद्धि र फैसला कार्यान्वयनका क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै गिरीलाई उक्त सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी संगठनभित्र व्यावसायिक दक्षता, जिम्मेवारीबोध र उत्कृष्ट कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्ने व्यवस्था अन्तर्गत गिरी जेठ महिनाका उत्कृष्ट प्रहरी घोषित भएका हुन्।
गिरीको नेतृत्व र कार्यसम्पादनले संगठनको छवि अभिवृद्धि गर्न तथा शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनको योगदानको प्रशंसा गरेको छ।
