काठमाडौं । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनामा जिल्ला अदालत संखुवासभाले सात जना सुरक्षाकर्मी र आठ जना कैदीबन्दीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला को इजलासले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत दोषी ठहर गर्दै उक्त फैसला गरेको हो। अदालतले दोषीहरूलाई जन्मकैदको सजायका साथै मृतकका नजिकका हकदारलाई जनही ५० हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको छ।
यो घटना २०८० साल साउन २४ गते जिल्ला कारागार खाँदबारीमा भएको थियो। अनुसन्धानका क्रममा कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिइएका संखुवासभाको मादी नगरपालिका–५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीमाथि सुरक्षाकर्मी तथा अन्य कैदीबन्दीले सामूहिक कुटपिट गरेको खुलेको थियो। कुटपिटकै कारण दुवै जनाको मृत्यु भएको निष्कर्ष अनुसन्धानबाट निकालिएको थियो।
घटनापछि तत्कालीन कारागार इन्चार्जसहित सात जना प्रहरी तथा सुरक्षा कर्मचारी र आठ जना कैदीबन्दीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको थियो। मुद्दाको पुर्पक्षका क्रममा सुरक्षाकर्मीहरूलाई धनकुटा कारागार र अन्य कैदीबन्दीलाई तेह्रथुम कारागारमा राखिएको थियो।
अदालतले प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राईसहित सात जनालाई दोषी ठहर गरेको छ। त्यसैगरी कैदीबन्दी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई, मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई पनि जन्मकैदको सजाय सुनाइएको अदालतले जनाएको छ।
कारागारभित्र रहेका व्यक्तिको सुरक्षाको जिम्मेवारी राज्य पक्षसँग रहने र हिरासत वा कारागारमा हुने कुनै पनि प्रकारको अमानवीय व्यवहार दण्डनीय हुने सन्देश यस फैसलाले दिएको कानुन व्यवसायीहरूको भनाइ छ। सुरक्षाकर्मी र कैदीबन्दी दुवैलाई समान रूपमा जिम्मेवार ठहर गरिएको यो फैसला कारागार व्यवस्थापन, मानवअधिकार संरक्षण तथा हिरासतमा रहेका व्यक्तिको जीवन सुरक्षासम्बन्धी मुद्दामा महत्वपूर्ण नजिरका रूपमा हेरिएको छ।
