काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको घटनाबारे समिति गठन गरेर छानबिन थालिएको छ ।
चोरी कसुरमा पक्राउ परेका वीरेन्द्रनगर नगरपालिका–१० घर भएका सबिर बक्सको जेठ १० गते बिहान मृत्यु भएको थियो । घटना छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयले एसएसपी सन्तोष सिंह राठौरको नेतृत्वमा समिति गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ डिल बहादुर कार्की नेतृत्वको समितिले पनि त्यसबारे छानबिन गरिरहेको छ ।
सबिर बक्स जेठ २७ मा मोबाइल चोरीको आरोपमा पक्राउ परेका थिए । अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले उनलाई हिरासतमा राखेको थियो । जेठ ३० मा बिहान ४ बजेर २६ मिनेटमा हिरासतमा बेहोस भएपछि उनलाई अस्पताल लगिएको कर्णाली प्रदेशका डीआईजी जयराज सापकोटाले बताए ।
उनले भने, ‘बिहान ५ बजेर ५२ मिनेटमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए, त्यसबारे हामीले आन्तरिक छानबिन थालेका छौँ ।’
२१ वर्षका बक्स सातौँपटक पक्राउ परेका हुन् । हिरासतमा उनले सर्ट फुकालेर ग्रिलमा चढ्न खोजेको र अन्य थुनुवाले उनलाई ग्रिलबाट झारेर सुताएको सिसिटीभी फुटेजमा देखिएको छ ।
उनको शव सुर्खेत स्थित कालागाउँ प्रादेशिक अस्पतालमा बुधवार पोस्टमार्टम गरिने डीआईजी सापकोटाले बताए । थुनुवामाथि कुटपिट भएको उनका आफन्तहरूले आशङ्का गरेका छन् ।
