काठमाडौं । प्रहरी प्रधान कार्यालयको निर्देशनअनुसार मधेस प्रदेश प्रहरी कार्यालयले ३५ जना प्रहरी कर्मचारीको सरुवा निकालेको छ, जसमा प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन्। तर, सरुवा भएर जाने क्रममा रहेका डीआईजी गोविन्द थपलियाले नै उक्त सरुवा सूची जारी गरेपछि यस विषयले प्रहरी संगठनभित्र चर्चा पाएको छ।
स्रोतहरूका अनुसार उक्त सरुवामा आफूलाई मन नपरेका वा आफू निकट नरहेका केही प्रहरी कर्मचारीलाई अन्यत्र पठाइएको आरोपसमेत लगाइएको छ। हाल डीआईजी थपलियाको सरुवा भइसकेको छ। तर, सरुवा आदेश कार्यान्वयन हुनुअघि नै उनले ३५ जना प्रहरी कर्मचारीको सरुवा निकालेका हुन्।
यसले सरुवाको समय र उद्देश्यबारे विभिन्न प्रश्नहरू जन्माएको छ।
डीआईजी थपलियाको नाम विगतमा पनि विभिन्न विवादसँग जोडिँदै आएको छ। उनी मधेस प्रदेश प्रहरी कार्यालयमा रहँदा सार्वजनिक भएका केही अडियो तथा भिडियो सामग्रीलाई लिएर समेत चर्चा भएको थियो। यद्यपि, ती विषयमा सम्बन्धित निकायले के निष्कर्ष निकालेको थियो भन्ने विषय अलग बहसको विषय हो।
प्रहरी वृत्तमा थपलियाबारे मिश्रित धारणा पाइन्छ। केहीले उनलाई प्रभावशाली (रास्वपा नेता निकट) अधिकृतका रूपमा हेर्छन् भने केहीले उनको कार्यशैलीलाई लिएर प्रश्न उठाउने गरेका छन्। संगठनभित्र पनि उनी जहाँ बसे पनि विवादमा तानिने अधिकृतका रूपमा चिनिने गरेको चर्चा सुनिन्छ।
मधेस प्रदेशमा कार्यरत रहँदा उनले विभिन्न राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूसँग निकट सम्बन्ध बनाएको चर्चा हुने गरेको छ।
अहिले चर्चामा आएको विषय भने ३५ जना प्रहरी कर्मचारीको सरुवा नै हो। सरुवा सूची हेर्दा अधिकांश कर्मचारीलाई मधेस प्रदेशबाहिरका विभिन्न प्रदेश तथा कार्यालयहरूमा पठाइएको देखिन्छ। सरुवामा परेका कर्मचारीमध्ये एकजना पनि मधेस प्रदेशमै नरहने गरी व्यवस्था गरिएको भन्दै संगठनभित्र चासो व्यक्त गरिएको छ।
प्रहरी प्रधान कार्यालयको पत्रअनुसार सरुवा गरिएको भनिए पनि प्रश्न भने अर्को उठेको छ। यदि यो निर्णय पूर्ण रूपमा प्रहरी प्रधान कार्यालयकै निर्देशनमा भएको थियो भने सरुवा भएर जाने क्रममा रहेका डीआईजी थपलियाले नै किन कार्यान्वयन गरे ? नयाँ नेतृत्वले जिम्मेवारी सम्हालेपछि पनि उक्त निर्णय कार्यान्वयन गर्न सकिने अवस्था थियो भन्ने तर्क केही प्रहरी अधिकारीहरूको छ।
यही कारण सरुवाको समयलाई लिएर प्रहरी संगठनभित्र अनेकौं अड्कलबाजी भइरहेका छन्। कतिपयले यसलाई नियमित प्रशासनिक प्रक्रिया मानेका छन् भने कतिपयले यसको पृष्ठभूमिबारे थप स्पष्टता आवश्यक रहेको बताएका छन्।
डीआईजी थपलियाको सरुवा भइसकेपछि उनीबाटै ३५ जना प्रहरी कर्मचारीको सरुवा जारी हुनु भने संगठनभित्र बहसको विषय बनेको मात्रै होइन अनौठो सरुवा मानिएको छ।
सरुवा सूची हेर्नुहोस्



