धनकुटा । राहदानी छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भेरिडोस’ कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यसै प्रकरणमा म्युहलबाउर आइडी सर्भिसका नेपाल प्रतिनिधि व्यवसायी मनिन्द्र कुमार मल्लको भूमिकामाथि पनि अनुसन्धान केन्द्रित भएको बताइएको छ । उनी नेकपा एमाले निकट मानिन्छन्।
सिद्धार्थ थापा नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री सुनिल बहादुर थापाका छोरा हुन् । राहदानी विभागको बहु-अर्ब रुपैयाँको ठेक्का प्रक्रियामा आर्थिक चलखेल, मिलेमतो र प्रभाव प्रयोग भएको आरोपमा अख्तियारले विभिन्न पक्षसँग सोधपुछ गरिरहेको छ ।
राहदानी विभागले पुरानो सम्झौता अवधि सकिएपछि जर्मन कम्पनी ‘भेरिडोस’लाई राहदानी छपाइ र ‘म्युहलबाउर’लाई राहदानी प्रणाली निर्माणको ठेक्का दिएको थियो । भेरिडोसले करिब ६ अर्ब ११ करोड रुपैयाँको ठेक्का प्राप्त गरेको थियो भने म्युहलबाउरले करिब १ अर्ब ५५ करोड रुपैयाँको प्रणाली निर्माणसम्बन्धी ठेक्का पाएको थियो ।
अनुसन्धानमा बोलपत्र प्रक्रियालाई दुई प्याकेजमा विभाजन गरी सत्ता निकट व्यवसायीहरूलाई लाभ पुग्ने वातावरण बनाइएको थियो कि भन्ने विषयसमेत छानबिनको केन्द्रमा रहेको स्रोतको दाबी छ । त्यसक्रममा सिद्धार्थ थापा र मनिन्द्रकुमार मल्ल दुवैको भूमिकाबारे अख्तियारले कागजात तथा आर्थिक कारोबारको विवरण अध्ययन गरिरहेको बताइएको छ ।
ठेक्का प्रदान गरिएको समयमा सिद्धार्थका बुबा सुनिलबहादुर थापा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए । राजनीतिक पहुँच र प्रभावको आडमा ठेक्का दिलाइएको थियो कि भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको बताइन्छ।
