काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको सुरक्षामा खटिएका निजी सुरक्षा अधिकृत (पीएसओ) वरिष्ठ सई सनम राईको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयले हालै सार्वजनिक गरेको वरिष्ठ सईहरूको नियमित सरुवा सूचीमा राईको नाम समेत समावेश गरिएको हो। प्रहरी स्रोतका अनुसार उनी लामो समयदेखि एउटै जिम्मेवारीमा कार्यरत रहेकाले नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताइएको छ।
प्रहरी कर्मचारी प्रशासन शाखाले प्रकाशित गरेको सरुवा सूचीमा ११ जना वरिष्ठ सईहरूको नाम समावेश छ, जसमा राईको नाम पनि रहेको छ। उनी विगत करिब सात वर्षदेखि प्रमुख आयुक्त प्रेमकुमार राईको सुरक्षार्थ खटिएका थिए।
प्रहरी प्रधान कार्यालयका अधिकारीहरूका अनुसार लामो समय एउटै स्थानमा कार्यरत कर्मचारीहरूको नियमित व्यवस्थापन तथा संगठनात्मक आवश्यकता अनुसार सरुवा गरिने अभ्यास रहेको छ। यसै क्रममा उक्त सरुवा गरिएको जनाइएको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले सरुवा नियमित प्रक्रिया अन्तर्गत भएको जानकारी दिए। उनकाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कुनै विशेष सिफारिस वा गुनासो प्राप्त नभए पनि लामो समय एउटै जिम्मेवारीमा रहेकाले सरुवा गरिएको हो।
हाल उनको सरुवालाई प्रहरी संगठनभित्रको नियमित प्रशासनिक प्रक्रिया भनिए पनि भित्री कथा अर्कै रहेको पाइएको छ।
बढुवादेखि प्रभावसम्म
प्रहरी स्रोतहरूका अनुसार उनै राई कुनै बेला प्रहरी संगठनभित्र अत्यन्तै प्रभावशाली सईका रूपमा चिनिन्थे। उनी हालका अख्तियार प्रमुख राई गृहसचिव हुँदा पनि उनीसँगै थिए र त्यसपछि अख्तियारमा समेत पीएसओका रूपमा निरन्तर कार्यरत रहे।
प्रहरी वृत्तमा चर्चित एक घटनाअनुसार २०६० सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले आफूभन्दा अगाडि २०५८ सालमा भर्ना भएका ब्याचलाई समेत उछिनेर इन्स्पेक्टर बढुवामा जान खोजेका थिए। त्यसबेला तत्कालीन प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले प्रक्रिया विवादित हुने भन्दै बढुवा प्रक्रियामै आपत्ति जनाएको चर्चा प्रहरी संगठनभित्र अझै सुनिन्छ।
अन्ततः नियमित प्रक्रियाअनुसार नै बढुवा प्रक्रिया अगाडि बढाइएको थियो। र, उनी बढुवाबाट बन्चित भए।
सम्पत्तिमाथि पनि प्रश्न
ललितपुर स्थायी घर भएका राईकी श्रीमती समेत नेपाल प्रहरीमै सई पदमा कार्यरत रहेको बताइन्छ। लामो समय शक्तिशाली पदमा बसेका कारण उनले अकुत सम्पत्ति आर्जन गरेको आरोप पनि छ।
यतिबेला सरकारले उच्च प्रहरी अधिकारीहरूको सम्पत्ति छानबिन र निगरानीलाई प्राथमिकतामा राखिरहेको अवस्थामा केही प्रहरी अधिकारीहरू भने सनम राईको सम्पत्तिको स्रोतबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्छन्।
चासोको विषय के छ भने अवैध सम्पत्ति तथा पदको दुरुपयोगबारे अनुसन्धान गर्ने प्रमुख निकाय नै अख्तियार हो। तर, त्यही निकायका प्रमुख आयुक्तको सुरक्षामा लामो समय खटिएका कर्मचारीमाथि प्रश्न उठ्दा स्वतन्त्र र निष्पक्ष छानबिन कसरी हुन्छ भन्ने बहस समेत सुरु भएको छ।
हाल राईको सरुवालाई प्रहरी संगठनले नियमित प्रशासनिक प्रक्रिया भनेको छ। तर, सात वर्षसम्म एउटै शक्तिशाली जिम्मेवारीमा बसेका एक प्रहरी अधिकृतको प्रभाव, पहुँच र सम्पत्तिबारे उठेका प्रश्नहरू भने सरुवासँगै पुनः चर्चामा आएका छन्।
