काठमाडौं । ट्राफिक नियम उल्लङ्घनका कारण हुने दुर्घटना न्यूनीकरण तथा चालकहरूलाई सचेत बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ विशेष सडक सचेतना अभियान सुरु गरेको छ।
आजबाट उपत्यकाभर सञ्चालनमा आएको अभियानको शुभारम्भका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्ले स्वयं सडकमा उत्रिएका छन्। उनले पुतलीसडकस्थित व्यस्त चोकमा पुगेर ट्राफिक व्यवस्थापनका साथै चालक तथा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए।
अभियानमार्फत ट्राफिक नियम उल्लङ्घन गर्दा हुने कानुनी कारबाही, जरिवाना तथा त्यसबाट निम्तिन सक्ने दुर्घटनाबारे चालकहरूलाई जानकारी गराइने कार्यालयले जनाएको छ। साथै सवारी चालकलाई नियम पालना गर्दै सुरक्षित र जिम्मेवार ढंगले सवारी चलाउन प्रेरित गरिनेछ।
उपत्यकामा बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा यस्तो सचेतनामूलक अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यालयका अनुसार नियम पालना गर्ने संस्कृतिको विकास गर्न सके दुर्घटना न्यूनीकरणसँगै ट्राफिक व्यवस्थापनमा समेत उल्लेखनीय सुधार आउनेछ।
ट्राफिक प्रहरीको विश्वास छ कि ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ अभियानले चालकमा अनुशासन र जिम्मेवारीबोध बढाउँदै सुरक्षित सडक संस्कृतिको निर्माणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
