बर्दिया । बर्दियामा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका एक सहायक हवल्दारको ट्रकको ठक्करबाट निधन भएको छ भने अर्का सशस्त्र प्रहरी जवान घाइते भएका छन्।
जिल्लाको गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिँदा एफओबी गणेशपुर, बर्दियामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको निधन भएको हो। दुर्घटनामा सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाह घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार कँडेल र शाह अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एक वटा पाडो नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाँदै थिए। सोही क्रममा ट्रकले उनीहरूलाई ठक्कर दिएको बताइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका सहायक हवल्दार कँडेलको उपचारका क्रममा निधन भएको हो। घाइते सशस्त्र प्रहरी जवान शाहको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था चिकित्सकहरूको निगरानीमा रहेको बताइएको छ।
घटनापछि स्थानीय सुरक्षाकर्मी र प्रहरी टोली तत्काल घटनास्थलमा पुगेका थिए। दुर्घटनामा संलग्न ट्रक तथा चालकबारे आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीमाथि भएको यो दुर्घटनाले सशस्त्र प्रहरी संगठनलाई स्तब्ध बनाएको छ। कर्तव्य पालनाकै क्रममा ज्यान गुमाएका सहायक हवल्दार तिलक कँडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै संगठनका अधिकारीहरूले शोक व्यक्त गरेका छन्।
दिवंगत सहायक हवल्दार कँडेलप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइते सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाहको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
