अछाम । अछामको ढकारी गाउँपालिका–४ बलातामा हराइरहेकी एक महिला जंगलमा मृत भेटिएकी छन् ।
शुक्रबार बिहान करिब ११ बजे घरबाट हराएकी ढकारी–४ बलाता बस्ने ३५ वर्षीया मनिषा देवी साउँद जंगलमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार वडासदस्य समेत रहेकी साउदको परिवारले शनिबार दिउँसो करिब २ बजेतिर प्रहरी चौकी ढकारीमा हुलिया सहित खोजीका लागि निवेदन दिएको थियो ।
प्रहरी र स्थानीयवासी मिलेर खोजतलास सुरु गरेका थिए । खोजीका क्रममा आइतबार साँझ ५ बजेतिर उनी घरदेखि करिब ५०० मिटर टाढा पर्ने पाले वन क्षेत्रभित्र सालको रूखमा प्लास्टिकको डोरीले झुन्डिएको अवस्थामा मृत फेला परेकि हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
मृतक साउद र उनकै वडाका नेकपाका स्थानीय नेतालाई एउटै कोठाभित्र रंगेहात फेला परेको भन्दै सामाजिक सञ्जालमा भिडियो समेत सार्वजनिक भएको थियो । उक्त घटनापछि भने उनी बेपत्ता भएकी थिईन् ।
सार्वजनिक भिडियोमा स्थानीयले महिला र पुरूष दुवैलाई केरकार गरेको देखिन्छ ।
