धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भिरबाट खसालिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। सामाजिक सञ्जालमा भिडियो भाइरल भएसँगै घटनाले व्यापक चर्चा र आलोचना बटुलेको छ।
शुक्रबार डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले स्थानीय धनादेवी धामीको टेम्पो हटाउने क्रममा उक्त सवारीसाधन भिरबाट खसेको थियो। घटनापछि सार्वजनिक भएको भिडियोमा टेम्पोलाई धकेलिएको देखिएपछि वन कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।
धामीले उक्त टेम्पोमार्फत सडक किनारमा पानी, चाउचाउ, बिस्कुट, अण्डालगायत सामग्री बिक्री गर्दै परिवारको जीविकोपार्जन गर्दै आएकी थिइन्। उनले आफूले टेम्पो नफाल्न आग्रह गर्दा पनि वन कर्मचारीहरूले बेवास्ता गर्दै जबर्जस्ती भिरतर्फ धकेलेको आरोप लगाएकी छन्।
‘त्यो टेम्पो नै हाम्रो परिवारको मुख्य आयस्रोत थियो,’ धामीले बताएकी छन्, ‘हामीले सामान हटायौं, गाडी पनि आफैं लैजान्छौं भनेका थियौं, तर कसैले सुनेन।’
यता डिभिजन वन कार्यालय धनगढीले भने घटनालाई फरक ढंगले व्याख्या गरेको छ। कार्यालयका अनुसार चुरे क्षेत्रको वन अतिक्रमण हटाउने अभियानका क्रममा संरचना हटाउँदा टेम्पो असन्तुलित भई भिरमा खसेको हो। कार्यालयले टेम्पो सञ्चालनयोग्य अवस्थामा नरहेको र अतिक्रमण हटाउन सम्बन्धित पक्षलाई पूर्वसूचना दिइएको दाबी गरेको छ।
घटनापछि वन कार्यालयका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफूहरूविरुद्ध फैलाइएका केही आरोप तथ्यमा आधारित नभएको बताएका छन्। उनीहरूले अभियान कानुनअनुसार सञ्चालन गरिएको र टेम्पो जानाजानी फाल्ने उद्देश्य नरहेको दाबी गरेका छन्।
घटनाबारे प्रहरी भने निष्कर्षमा पुगिसकेको छैन। कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले दुवै पक्षबाट फरक–फरक दाबी आएकाले तथ्यका आधारमा अनुसन्धान भइरहेको बताए।
इलाका प्रहरी कार्यालय मालाखेतीले पनि घटनासम्बन्धी भिडियो, प्रत्यक्षदर्शी र सम्बन्धित पक्षहरूसँग सोधपुछ भइरहेको जनाएको छ। अनुसन्धानबाट कुनै व्यक्ति वा निकायबाट कानुनविपरीत कार्य भएको पुष्टि भए आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीको भनाइ छ।
वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा भएको यो घटनाले कानुन कार्यान्वयन र मानवीय संवेदनशीलताबीचको सन्तुलनबारे नयाँ बहस जन्माएको छ। अनुसन्धानको निष्कर्षले घटनाको वास्तविकता उजागर गर्ने अपेक्षा गरिएको छ।
