कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कानुन कार्यान्वयनको शैलीमाथि व्यापक प्रश्न उठेको छ। घटनामा आफ्नो जीविकोपार्जनको मुख्य आधार नै गुमाएको भन्दै गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामी अहिले न्यायको खोजीमा छिन्।
भिडियोमा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडकछेउमा राखिएको टेम्पोलाई धकेलेर भीरबाट खसालेको देखिन्छ। उक्त टेम्पो धनादेवी धामीको भएको र त्यसैमार्फत उनी परिवारको गुजारा चलाउँदै आएकी थिइन्।
धामीका अनुसार गाईमारेडाँडास्थित सडक किनारमा राखिएको टेम्पोबाट कर्मचारीहरूले पहिले सामान झारेका थिए। त्यसपछि आफूहरूले गाडी घरतर्फ लैजान दिन आग्रह गरे पनि कसैले नसुनेको उनको गुनासो छ।
‘सामान झार्नुभयो, गाडी हामी आफैं लैजान्छौँ भनेर हात जोडेर बिन्ती गर्यौँ। तर कसैले सुन्नुभएन,’ उनले भनिन्, ‘यदि गल्ती भएको थियो भने कानुनी कारबाही गर्न सकिन्थ्यो, तर मेरो रोजीरोटी नै किन खोसियो ?’
धामीका अनुसार उक्त जीएसए टेम्पो नै उनको परिवारको मुख्य आयस्रोत थियो। सडक किनारमा पानी, चाउचाउलगायतका सामग्री बेचेर परिवार चलाउँदै आएकी उनी अहिले आर्थिक संकटमा परेकी छन्। उनले टेम्पोको नियमित करसमेत तिर्दै आएको बताएकी छन्।
‘हरेक बिहान गाडी चलाएर त्यहाँ जान्थ्यौँ र बेलुका फेरि घर ल्याउँथ्यौँ। यो कुनै त्यत्तिकै फालिएको गाडी थिएन,’ उनले भनिन्।
घटनापछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ। धेरैले वन अतिक्रमण नियन्त्रण आवश्यक भए पनि कानुन कार्यान्वयनका नाममा गरिब परिवारको जीविकोपार्जनको साधन नै नष्ट गरिनु अमानवीय भएको टिप्पणी गरेका छन्। टेम्पो धकेलेर खसाल्ने जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्ने मागसमेत उठिरहेको छ।
यता डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त क्षेत्रमा ४७ वटा संरचना हटाइएको जनाएको छ। कार्यालयका सूचना अधिकारी जीवछ यादवले सम्बन्धित व्यक्तिहरूलाई पटक–पटक संरचना हटाउन आग्रह गरिएको दाबी गर्दै टेम्पो भीरमा फाल्ने नियत नरहेको बताएका छन्।
वन कार्यालयले अतिक्रमण हटाउने अभियान कानुनअनुसार सञ्चालन गरिएको जनाएको भए पनि भिडियो सार्वजनिक भएपछि कार्यान्वयनको तरिका र त्यसमा अपनाइएको संवेदनशीलताबारे बहस सुरु भएको छ।
घटनाले वन क्षेत्रको संरक्षण र अतिक्रमण नियन्त्रण जति आवश्यक छ, त्यत्तिकै कानुन कार्यान्वयनका क्रममा नागरिकको जीविकोपार्जन, मानवीय गरिमा र संवेदनशीलतालाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्नलाई पनि केन्द्रमा ल्याएको छ।
अहिले धनादेवी धामीको परिवार क्षतिग्रस्त टेम्पो र अनिश्चित भविष्यसँग जुधिरहेको छ। उनको एउटै माग छ- ‘कानुन लागू होस्, तर गरिबको पेटमा लात हानेर होइन।’
