काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर जबराले प्रधानमन्त्री कार्यालयलाई केरकार केन्द्र वा हिरासत गृहका रूपमा प्रयोग गर्न नहुने भन्दै सरकारको पछिल्लो कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जबराले समाचारको स्रोत खोज्ने नाममा पत्रकार पक्राउ गर्ने, सञ्चारगृहमा सादा पोसाकका प्रहरी पुगेर धरपकड गर्ने तथा राज्यका महत्वपूर्ण निकायका पदाधिकारी र कर्मचारीमाथि दबाब सिर्जना गर्ने गतिविधि लोकतान्त्रिक शासन व्यवस्थाको मर्मविपरीत रहेको बताएका छन् ।
उनले लोकतन्त्रमा सरकार शक्तिशाली भए पनि संविधान र कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गरेका छन् । जनताले दिएको जनमत निरंकुश बन्ने अनुमति नभई जनताप्रति थप उत्तरदायी बन्ने जिम्मेवारी भएको उनको भनाइ छ ।
‘कानुनको शासनमा असहमतिको जवाफ प्रतिशोधबाट होइन, विधि र प्रक्रियाबाट दिइनुपर्छ । प्रधानमन्त्री कार्यालय राज्य सञ्चालनको केन्द्र हो, केरकार र हिरासत गृह होइन,’ जबराले लेखेका छन् ।
सरकारको कार्यशैलीप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नेताहरू र विभिन्न तहबाट असन्तुष्टि व्यक्त भइरहेको दाबी गर्दै उनले सरकार रास्वपाको राजनीतिक प्रतिबद्धता र सिद्धान्तभन्दा बाहिर गएर सञ्चालन भइरहेको हो वा पार्टीभित्रै यस्ता गतिविधिप्रति मौन सहमति छ भन्ने प्रश्नसमेत उठाएका छन् ।
पासपोर्ट प्रकरणदेखि न्यायालय हुँदै पत्रकार पक्राउसम्मका घटनाक्रमले संवैधानिक निकाय र राज्यका संस्थाहरूलाई स्वतन्त्र तथा स्वायत्त राख्नेभन्दा आफ्नो अनुकूल परिचालन गर्ने सोच सरकारमा हावी हुँदै गएको आशंका जन्माएको उनले बताएका छन् ।
जबराले सरकारका सकारात्मक कामको समर्थन गर्ने तर संविधान, लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि हुने हस्तक्षेपको विरोध गर्ने स्पष्ट पारेका छन् ।
उनले सरकारलाई समयमै आफ्नो कार्यशैली सच्याउन आग्रह गर्दै सत्तारुढ रास्वपालाई समेत सरकारलाई लोकतान्त्रिक मूल्य र राजनीतिक प्रतिबद्धताको सीमाभित्र राख्न जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान गरेका छन् ।
‘दुई तिहाइको जनमत निरंकुशता स्थापित गर्न प्राप्त भएको होइन, सुशासन, विकास, समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्राप्त भएको हो,’ उनले लेखेका छन् ।

