काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने संकेत गरेको छ। पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले न्यायाधीशहरूमाथि कारबाही कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बताए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले अब यस विषयमा कसरी अघि बढ्ने भन्ने कुरा संसद्सँग सम्बन्धित भएकाले संसदीय प्रक्रियाबाटै अगाडि बढ्ने बताएका हुन्। उनको यो अभिव्यक्तिलाई न्यायाधीशहरूमाथि महाअभियोग प्रस्ताव अघि बढाउने संकेतका रूपमा हेरिएको छ।
रास्वपाको सचिवालय बैठकमा विवादास्पद बिचौलिया इनम सापकोटासँगको सम्पर्क र सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडिएपछि उत्पन्न परिस्थितिबारे छलफल भएको हो।
इनम सापकोटासँगको संवाद र भेटघाटका विवरण सार्वजनिक भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि प्रश्न उठिरहेको छ। यसैबीच रास्वपाका सांसदहरूले समेत न्यायाधीशहरूमाथि महाअभियोगको विषय संसद्मा प्रवेश गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्।

