काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेको भन्दै यसको उल्लंघन गर्ने जोकोही कारबाहीको भागीदार बन्नुपर्ने बताएका छन् ।
शनिबार बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले संविधान र लोकतान्त्रिक व्यवस्थाको सीमाभन्दा बाहिर गएर कुनै पनि गतिविधि गर्न नहुनेमा पार्टी स्पष्ट रहेको बताए ।
उनले सरकारलाई समेत संविधान र लोकतन्त्रको दायराभित्र रहेर काम गर्न निर्देशन दिइएको जानकारी दिए । संविधानभन्दा माथि गएर कसैले गतिविधि गरे त्यसको जिम्मेवारी लिनुपर्ने र कानुनअनुसार सजाय भोग्नुपर्ने उनको भनाइ छ ।
‘संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही छैन, कोही छैन । संविधानमा आँच आउने कुनै पनि क्रियाकलाप जोसुकैले गरेको भए पनि सजायको भागीदार हुनुपर्छ,’ लामिछानेले भने ।
सभापति लामिछानेले संविधानप्रदत्त अधिकारको हनन गर्ने व्यक्ति वा निकाय जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने धारणा राखे । संविधानलाई बेवास्ता गरेर अघि बढ्ने छुट कसैलाई नरहेको उनको भनाइ छ ।
पछिल्लो समय इनम सापकोटा प्रकरणमा न्यायालयका केही न्यायाधीशको नाम जोडिएपछि उत्पन्न विवाद र न्यायाधीशमाथि कारबाहीको विषयमा रास्वपाको सचिवालय बैठकमा छलफल भएको थियो ।
बैठकपछि प्रवक्ता जगदीश खरेलले न्यायाधीशमाथि कारबाहीको प्रक्रिया संसद्बाट अघि बढ्ने बताएका थिए ।

