काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समूहअन्तर्गत विभिन्न तहका ८७७ जना प्रहरी कर्मचारीको बढुवा तथा पदस्थापना गरिएको छ।
प्रहरी महानिरीक्षकको जेठ २९ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायब निरीक्षकबाट ७९ जना प्रहरी वरिष्ठ नायब निरीक्षकमा बढुवा भएका हुन्।
बढुवा हुनेमध्ये प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह (नर्सिङ) तर्फ ४ जना, इन्जिनियरिङ उपसमूह सूचना प्रविधि/कम्प्युटरतर्फ ४ जना, विधिविज्ञान उपसमूहतर्फ २ जना, इन्जिनियरिङ उपसमूह सञ्चारतर्फ ६२ जना, संगीत उपसमूहतर्फ ५ जना, केनाइन उपसमूहतर्फ १ जना तथा आवास तथा भौतिक इन्जिनियरिङतर्फ १ जना रहेका छन्।
त्यसैगरी, प्राविधिक प्रहरी समूहअन्तर्गत १०१ जना प्रहरी सहायक निरीक्षक प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका छन्। बढुवा हुनेमा इन्जिनियरिङ उपसमूह सञ्चारतर्फ ८८ जना, संगीत उपसमूहतर्फ ६ जना, विधिविज्ञान उपसमूहतर्फ ३ जना, सूचना प्रविधि/कम्प्युटरतर्फ १ जना, केनाइन उपसमूहतर्फ २ जना तथा आवास तथा भौतिक इन्जिनियरिङतर्फ १ जना रहेका छन्।
यस्तै, ९४ जना प्राविधिक प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरिएको छ भने ११७ जना प्राविधिक प्रहरी हवल्दार प्रहरी वरिष्ठ हवल्दारमा बढुवा भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार १२३ जना प्राविधिक प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दारमा बढुवा गरिएको छ। साथै, ३६३ जना प्राविधिक प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ।
बढुवासँगै सम्बन्धित कर्मचारीहरूको पदस्थापना समेत गरिएको नेपाल प्रहरीले जनाएको छ। बढुवा तथा पदस्थापनापछि उनीहरूले पाउने तलब, भत्ता तथा राशन सुविधा हाल पदस्थापना भएको दरबन्दीबाटै उपलब्ध गराइने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीमा प्राविधिक जनशक्तिको वृत्ति विकास, मनोबल अभिवृद्धि तथा संगठनको कार्यक्षमता सुदृढ गर्ने उद्देश्यले यो बढुवा गरिएको जनाइएको छ।
प्र.ब.ना.नि./प्र.ना.नि./प्र.स.नि.हरु पदमा को-को बढुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रहरी बरिष्ठ हवल्दार पदमा को-को बढुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रहरी हवल्दार पदमा को-को बढुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रहरी सहायक हवल्दार पदमा को-को बढुवा भए हेर्न यहाँ क्लिक गर्नुहोस् ।
![जवानदेखि वरिष्ठ नायब निरीक्षकसम्म : प्राविधिक प्रहरीका ८७७ जना बढुवा [सुचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)