कैलाली । जेठ ३० । बिहान करिब ९ः३० बजे कैलाली र बर्दियाको सीमा क्षेत्र चिसापानीस्थित कर्णाली पुलमुनि नदीको तीव्र बहावमा चार जना व्यक्ति ‘बचाऊँ, बचाऊँ’ भन्दै संघर्ष गरिरहेको दृश्य देखिएपछि त्यहाँ उपस्थित सर्वसाधारण एकाएक झस्किए।
नदी किनारमा उद्धार टोलीको दौडधुप, पुलमाथि सयौं दर्शकको भीड र नदीसँग जुध्दै सुरक्षाकर्मीले गरेको साहसिक उद्धारले वास्तविक विपद्को झल्को दिएको थियो।
तर, यो कुनै वास्तविक दुर्घटना नभई सशस्त्र प्रहरी बल, नेपालले आयोजना गरेको जल उद्धारसम्बन्धी संयुक्त कृत्रिम अभ्यास (मक ड्रिल) थियो। विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूको तयारी, समन्वय र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजित उक्त अभ्यासमा विभिन्न सुरक्षा तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा लम्कीचुहा नगरपालिका–३, चिसापानीस्थित कर्णाली नदीमा सम्पन्न अभ्यासमा खोज तथा उद्धारका विविध प्रविधि प्रदर्शन गरिएको थियो।
अभ्यासका क्रममा आकस्मिक बाढीका कारण चार जना व्यक्ति नदीमा बगेको काल्पनिक अवस्था सिर्जना गरिएको थियो। त्यसपछि सशस्त्र प्रहरीको उद्धार टोलीले रबर बोट, लाइफ ज्याकेट, थ्रो ब्याग तथा रोप रेस्क्यु प्रविधिको प्रयोग गर्दै उद्धार कार्य सम्पन्न गरेको थियो।
कार्यक्रमको सुरुआत ‘इम्प्रोभाइज्ड फ्लोटिङ डिभाइस’ प्रदर्शनबाट गरिएको थियो। बाढी तथा डुबानका बेला गाउँघरमै उपलब्ध सामग्री प्रयोग गरेर कसरी जोगिन र उद्धार गर्न सकिन्छ भन्ने विषयमा केराको थाम, म्याट्रेस, ट्युब, डोरी र लाइफ ज्याकेटको प्रयोगसमेत देखाइएको थियो।
अभ्यासको अर्को चरणमा बाढीले घर बगाउँदा चार जना व्यक्ति बगेको दृश्य प्रस्तुत गरिएको थियो। तीमध्ये दुई जनालाई मोटरबोटको सहायतामा ‘स्लिदरिङ मेथड’ प्रयोग गरी उद्धार गरिएको थियो भने अन्य दुई जनालाई राफ्ट बोटमार्फत ‘भिक्टिम क्यारी मेथड’ र थ्रो ब्यागको प्रयोग गरेर सुरक्षित स्थानमा ल्याइएको थियो। राफ्ट पल्टिएको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा ‘फ्लिप’ र ‘रि–फ्लिप’ प्रविधिको समेत प्रदर्शन गरिएको थियो।
त्यस्तै, अभ्यासको तेस्रो चरणमा कर्णाली किनारमा माछा मारिरहेका एक जना माझी नदीमा डुबेको काल्पनिक घटना प्रस्तुत गरिएको थियो। स्थानीयले सशस्त्र प्रहरीको टोल–फ्री नम्बर १११४ मा खबर गरेपछि नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाबाट गोताखोर टोली परिचालन गरी बेपत्ता व्यक्तिको सकुशल उद्धार गरिएको दृश्य देखाइएको थियो। उद्धारपछि प्राथमिक स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानमा राखिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् व्यवस्थापनमा पूर्वतयारी, समन्वय र दक्ष जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताए। बाढी, डुबान तथा अन्य प्राकृतिक विपद्का घटना वर्षेनि दोहोरिने भएकाले सुरक्षा निकाय, स्थानीय तह र समुदायबीचको सहकार्य अझ सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति दिग विजय सुवेदीले विपद् व्यवस्थापन सशस्त्र प्रहरी बलको प्रमुख जिम्मेवारीमध्ये एक भएको उल्लेख गर्दै अन्तरनिकाय समन्वय र सामूहिक प्रतिबद्धतामार्फत मात्रै प्रभावकारी प्रतिकार्य सम्भव हुने बताए।
यस्ता अभ्यासले वास्तविक विपद्को समयमा खोज, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे।
सुवेदीले अभ्यासमा सहभागी नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, समुदाय विपद स्वयंसेवक, विपद सुचक तथा सम्पूर्ण सरोकारवाला निकायहरूको सक्रिय सहभागिताको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए ।
साथै, सशस्त्र प्रहरी बल, नेपाल नागरिकको जिउधनको सुरक्षाप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै विपद्को कुनै पनि अवस्थामा खोज, उद्धार तथा राहत कार्यका लागि चौबीसै घण्टा तयारी अवस्थामा रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा लम्कीचुहा नगरप्रमुख सुशिला शाही, प्रहरी नायब महानिरिक्षक ओम राना, एसएसपी निरकृष्ण अधिकारीलगायत २५० भन्दा बढीको उपस्थित रहेको थियो ।
