रूपन्देही । बुटवलको व्यस्त व्यापारिक क्षेत्र अमरपथमा रहेको तिनाउ सुनचाँदी पसलबाट पौने २ करोड रुपैयाँ बराबरको सुनचाँदी चोरी भएको खबर सार्वजनिक हुँदा व्यवसायी समुदाय मात्र होइन, सर्वसाधारण पनि स्तब्ध बनेका थिए। सुनचाँदी व्यवसायीमाथि परेको ठूलो आर्थिक क्षतिका रूपमा हेरिएको उक्त घटना अहिले भने बिल्कुलै फरक मोडमा पुगेको छ।
घटनाको करिब एक साताभन्दा बढी समय लगाएर गरिएको अनुसन्धानपछि प्रहरीले चोरीको घटना बाहिरबाट आएको कुनै गिरोहले नभई पसल सञ्चालक स्वयंले योजनाबद्ध रूपमा रचेको निष्कर्ष निकालेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार यो सामान्य चोरीको घटना नभई आर्थिक संकट, धितोमा राखिएको सुनको अभाव र बीमा रकम प्राप्त गर्ने उद्देश्यसँग जोडिएको योजनाबद्ध षड्यन्त्र देखिएको छ।
जेठ १८ गते बिहान बुटवल–५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलको सटर खुला अवस्थामा देखिएपछि छिमेकीहरूले सञ्चालक दीपक विकलाई खबर गरेका थिए। त्यसलगत्तै विकले पनि प्रहरीलाई फोन गरी पसलबाट ठूलो परिमाणमा सुनचाँदी चोरी भएको जानकारी दिएका थिए। प्रारम्भिक विवरणअनुसार करिब ७० तोला सुन तथा ठूलो परिमाणमा चाँदी हराएको दाबी गरिएको थियो।
घटना सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रूपन्देही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोली अनुसन्धानमा जुट्यो। तर, घटनास्थल पुगेका प्रहरी अधिकारीहरूलाई सुरुदेखि नै केही अस्वाभाविक कुरा देखिएको थियो।
प्रहरी स्रोतकाअनुसार पसलको च्यानल गेट, सटर तथा लकरहरूमा जबर्जस्ती तोडफोड गरिएको कुनै संकेत थिएन। सामान्यतया चोरीका घटनामा देखिने बल प्रयोगका प्रमाण नभेटिएपछि अनुसन्धानको दिशा बाहिरी व्यक्तिभन्दा पसलसँग सम्बन्धित व्यक्तितर्फ मोडिएको थियो।
रूपन्देही प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीका अनुसार घटनास्थलको अवस्था हेर्दा नै प्रहरीलाई सुरुदेखि शंका लागेको थियो। ‘सटर, गेट र लकरको अवस्था हेर्दा बाहिरबाट आएको व्यक्तिले चोरी गरेको जस्तो देखिएन। त्यसैले हामीले पसलसँग प्रत्यक्ष सम्बन्धित व्यक्तिहरूमाथि केन्द्रित भएर अनुसन्धान अघि बढायौँ,’ उनले भने।
अनुसन्धानको क्रममा प्रहरीले बुटवल क्षेत्रका करिब १५० स्थानका सीसीटीभी फुटेज अध्ययन गरेको थियो। त्यही क्रममा घटनाको सबैभन्दा महत्वपूर्ण पाटो फेला परेको थियो।
सञ्चालक विकले आफू घटना हुनुअघि पोखरा गएको दाबी गरेका थिए। तर सीसीटीभी फुटेजले भने फरक कथा सुनायो। फुटेजमा उनी आफ्नै कर्मचारी नवीन विकसँग बुटवलमै देखिएका थिए। प्रहरीले पत्ता लगाएअनुसार दुवैजना घटना हुनुअघि एक होटलमा बसेर लामो समय छलफल गरेका थिए।
त्यसपछि मध्यरातमा सञ्चालक विक आफ्नै पसलभित्र प्रवेश गरेको र करिब साढे दुई घण्टासम्म त्यहाँ बसेको दृश्य विभिन्न क्यामेरामा कैद भएको थियो। प्रहरीका अनुसार राति करिब २ः३० बजे उनी झोला बोकेर पसलबाट बाहिरिएका थिए। त्यसपछि उनी तिनाउ पुल हुँदै गोलपार्क र सिद्धबाबा क्षेत्रतर्फ गएको देखिएको थियो।
घटनास्थलबाट फेला परेको अर्को महत्वपूर्ण प्रमाण थियो- लकर खोल्न प्रयोग हुने चाबीको झुप्पा। प्रहरीका अनुसार सुन राखिएको लकर खुला अवस्थामा थियो, तर अन्य लकरहरू यथावत् थिए। यसले पनि घटनालाई थप शंकास्पद बनाएको थियो।
प्रहरीको सोधपुछका क्रममा सञ्चालक विकले आर्थिक समस्याका कारण घटना रचेको स्वीकार गरेको स्रोतको दाबी छ। अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार ग्राहक र अन्य सुन व्यवसायीले धितोस्वरूप राखेका केही सुनका गरगहना उनले विभिन्न समयमा बिक्री गरिसकेका थिए। पछिल्लो समय सुनको मूल्य लगातार बढेपछि ती गरगहना फिर्ता गर्न कठिन भएको थियो।
त्यसैबीच पसलको बीमा गरिएको रकम दाबी गर्न सकिने र चोरी भएको बहाना बनाएर धितोमा राखिएको सुन फिर्ता दिनुपर्ने दायित्वबाट पनि बच्न सकिने निष्कर्षमा पुगेपछि उनले योजनाबद्ध रूपमा ‘चोरी’ को कथा रचेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी नविन श्रीवास्तवका अनुसार आर्थिक संकटमा परेका केही व्यवसायीले बीमा रकम असुल्न वा ग्राहकको सम्पत्ति फिर्ता दिनबाट बच्न यस्ता घटना सिर्जना गरेका उदाहरण विगतमा पनि भेटिएका छन्।
हालसम्म प्रहरीले ५ तोला ४१ लाल सुन र १४ किलो ३०० ग्राम चाँदी बरामद गरिसकेको जनाएको छ। यद्यपि सञ्चालकले दाबी गरेअनुसार हराएको भनिएको सम्पूर्ण सुन अझै फेला परिसकेको छैन। यसबीच केही व्यक्तिहरूले आफूहरूले पनि उक्त पसलमा सुन धितो राखेको भन्दै प्रहरीसँग सम्पर्क गर्न थालेका छन्।
प्रहरीले सञ्चालक विक र कर्मचारी नवीन विकलाई नियन्त्रणमा लिएर आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। साथै बीमा कागजात, वित्तीय कारोबार, धरौटीका अभिलेख तथा वास्तविक सुनको विवरणको समेत विस्तृत परीक्षण भइरहेको छ।
यदि अनुसन्धानबाट खुलेका तथ्य अदालतमा प्रमाणित भए भने बुटवलको यो घटना सामान्य चोरीको केसमा सीमित रहने छैन। बरु यो बीमा ठगी, विश्वासघात र योजनाबद्ध आर्थिक अपराधको एउटा प्रतिनिधि उदाहरणका रूपमा स्थापित हुन सक्ने देखिएको छ। व्यवसायी समुदायमा समेत व्यापक चर्चा बटुलेको यो घटनाले धितोमा राखिने बहुमूल्य धातुको सुरक्षा र सुनचाँदी व्यवसायको पारदर्शितामाथि नयाँ प्रश्न खडा गरेको छ।
