काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदैछ। विश्वभरका करोडौं समर्थकजस्तै नेपालमा पनि लाखौं फुटबल प्रेमीहरू विश्वकपको प्रतीक्षामा छन्। तर, फुटबलको उत्साहसँगै अनलाइन बेटिङ र सट्टेबाजीको जाल सक्रिय हुन सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै विश्वकपलाई मनोरञ्जन र खेल संस्कृतिको उत्सवका रूपमा लिन आग्रह गरेको छ। प्रहरीले विशेषगरी अनलाइन बेटिङ, सट्टेबाजी र सजिलै पैसा कमाउने प्रलोभन देखाएर हुने ठगीबाट सावधान रहन अनुरोध गरेको हो।
प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा ठगी गिरोहहरूले ‘थोरै लगानीमा धेरै आम्दानी’, ‘घरमै बसेर पैसा कमाउने अवसर’ जस्ता आकर्षक नारासहित सामाजिक सञ्जालमा विज्ञापन प्रसारण गर्दै सर्वसाधारणलाई जालमा पार्ने गरेका छन्। विश्वकपजस्ता ठूला खेल प्रतियोगिताका बेला यस्ता गतिविधि झन् बढ्ने भएकाले सचेत रहन आवश्यक रहेको प्रहरीको भनाइ छ।
प्रहरी निरीक्षकहरूले भिडियो सन्देशमार्फत सजिलै पैसा कमाउने आशामा बेटिङ प्लेटफर्ममा प्रवेश गर्नेहरू अन्ततः आर्थिक ठगीको सिकार बन्न सक्ने बताएका छन्। उनीहरूका अनुसार सुरुमा केही रकम जितेको जस्तो देखाएर विश्वास जित्ने र त्यसपछि थप रकम लगानी गर्न लगाएर ठगी गर्ने प्रवृत्ति यस्ता गिरोहको मुख्य रणनीति हो।
नेपालमा अनलाइन सट्टेबाजी तथा बेटिङ कानुनविपरीत मानिन्छ। मुलुकी अपराध संहिता, २०७४ ले सट्टेबाजीलाई दण्डनीय कसुरको रूपमा परिभाषित गरेको छ। त्यसैले यस्ता गतिविधि सञ्चालन गर्ने मात्र होइन, त्यसमा सहभागी हुनेहरू पनि कानुनी कारबाहीको दायरामा पर्न सक्छन्।
विश्वकप फुटबल केवल खेल प्रतियोगिता मात्र नभई विश्वभरका समर्थकलाई जोड्ने उत्सव, मेला र खेल संस्कृतिको पर्व हो। यस्तो अवसरलाई खेलप्रतिको प्रेम, उत्साह र स्वस्थ मनोरञ्जनमा सीमित राख्नु आवश्यक रहेको प्रहरीको सन्देश छ।
प्रहरीले आफ्नो टोल–छिमेक वा सामाजिक सञ्जालमार्फत बेटिङ तथा सट्टेबाजी सञ्चालन भइरहेको जानकारी पाएमा सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ। विश्वकपको रोमाञ्चक माहोलमा अवैध बेटिङको प्रलोभनमा नपरी सुरक्षित र जिम्मेवार रूपमा खेलको आनन्द लिन प्रहरीले अनुरोध गरेको छ।
भिडिओ हेर्न यहाँ क्लिक हेर्नुहोस्
![‘सजिलै पैसा कमाउने’ प्रलोभनमा नपर्न विश्वकपअघि नेपाल प्रहरीको सन्देश [भिडिओ]](https://scoopkhabar.com/wp-content/uploads/2026/06/football-match-nepal-police-1024x512.jpg)