काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि आज हुने निर्वाचनले वैदेशिक रोजगार क्षेत्रको आगामी दिशा तय गर्नेछ।
संघको नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन्। तर अध्यक्ष पदका प्रत्याशीमध्ये डिकबहादुर खत्री (कुमार) लाई अनुभवी, समन्वयकारी र सक्षम नेतृत्वका रूपमा हेरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ वैदेशिक रोजगार क्षेत्रका व्यवसायीहरूको साझा छाता संगठन हो। व्यवसायीका हकहित संरक्षण, श्रम गन्तव्य मुलुकसँग सम्बन्धित नीतिगत विषय, सरकारी निकायसँग समन्वय, व्यवसायिक समस्या समाधान तथा श्रमिक र व्यवसायीबीचको विश्वास कायम राख्न संघको महत्वपूर्ण भूमिका रहँदै आएको छ।
त्यसैले संघको नेतृत्व चयनलाई व्यवसायीहरूले विशेष महत्वका साथ लिएका छन्।
यसपटकको निर्वाचनमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनबाट मेघनाथ भूर्तेल, स्वतन्त्र व्यवसायी समूहबाट हरिबहादुर पाण्डे र संयुक्त व्यवसायी समूहबाट डिकबहादुर खत्री अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्।
संघको पूर्व प्रथम उपाध्यक्षसमेत रहेका खत्री वैदेशिक रोजगार क्षेत्रका पुराना र परिचित अनुहार हुन्। व्यवसायीहरूका समस्या, नीतिगत जटिलता तथा संघभित्रको संस्थागत चुनौतीबारे उनको अनुभवलाई बलियो पक्षका रूपमा हेरिएको छ। व्यवसायीहरूबीच संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न सक्ने नेताका रूपमा उनको छवि बनेको छ।
संयुक्त व्यवसायी समूहले व्यवसायीहरूको हकहित संरक्षण, पारदर्शी र उत्तरदायी संघ निर्माण, श्रमिक तथा व्यवसायीबीच विश्वास अभिवृद्धि, सरकारी निकायसँग प्रभावकारी समन्वय र नीतिगत सुधारका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। यी एजेण्डालाई मतदातामाझ पुर्याउँदै खत्री नेतृत्वको समूह चुनावी मैदानमा रहेको छ।
वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौतीसँग जुधिरहेको अवस्थामा व्यवसायीहरू सक्षम, परिणाममुखी र सबैलाई समेट्न सक्ने नेतृत्वको खोजीमा छन्। यही सन्दर्भमा डिकबहादुर खत्रीलाई आगामी नेतृत्वका लागि सबल र सक्षम पात्रका रूपमा हेरिएको व्यवसायीहरू बताउँछन्।
आज हुने मतदानले आगामी दुई वर्षका लागि संघको नेतृत्व मात्र होइन, वैदेशिक रोजगार व्यवसायीहरूको साझा एजेण्डा र संस्थागत दिशासमेत निर्धारण गर्नेछ। त्यसैले सबैको नजर आजको निर्वाचन र त्यसको परिणामतर्फ केन्द्रित छ।
खत्रीको प्यानल

