धनगढी । भारतको केदारनाथमा रोजगारी गरेर घर फर्किरहेका बझाङका एक युवक बाटोबाटै बेपत्ता भएका छन्। बझाङको सुर्मा गाउँपालिका–४ का शम्शेर बोहरा सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ।
पारिवारिक स्रोतका अनुसार बोहरा गत चैतमा गाउँकै अन्य दुई युवासँग कामका लागि केदारनाथ गएका थिए। उनीहरू २० जेठमा घर फर्किने योजना अनुसार नेपालतर्फ प्रस्थान गरेका थिए। तर, सँगै यात्रा गरिरहेका दुई जना सकुशल घर फर्किए पनि शम्शेर भने बाटोबाटै हराएका हुन्।
शम्शेरका काका नरेश बोहराका अनुसार उनीसँगै आएका अनु पुजारा र निरज बोहराले केदारनाथदेखि हरिद्वारसम्म शम्शेर आफूहरूसँगै रहेको बताएका छन्। उनीहरूका अनुसार बाटोमा अपरिचित व्यक्तिसँग चिया खाएपछि आफूहरूलाई केही याद नभएको र पछि लुटिएको अवस्थामा होस खुलेको थियो।
शुक्रबार साँझ महेन्द्रनगर पुगेपछि उनीहरूले शम्शेर घर पुगे–नपुगेको विषयमा परिवारसँग सम्पर्क गरेका थिए। त्यसक्रममा शम्शेर घर नपुगेको जानकारी पाएपछि उनी बेपत्ता भएको खुलासा भएको हो।
घटनापछि शम्शेरको खोजीका लागि परिवारका सदस्यहरू भारत जाने तयारीमा रहेका छन्। परिवारले शम्शेरलाई कतै देखे वा भेटेमा तत्काल जानकारी गराइदिन सबैसँग अनुरोध गरेको छ।
सम्पर्कका लागि परिवारले ९८४८९९७०४३, ९७६४४४०४६३ तथा भारतमा रहेका आफन्तका नम्बर ८५४४७५४६५९ र ९७०२०८५१९२ उपलब्ध गराएका छन्।
