धनगढी । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार मोटरसाइकललाई ट्राफिक प्रहरीले रोकेपछि धनगढीमा विवाद भएको छ। तीन जना सवार रहेको मोटरसाइकललाई शुक्रबार साँझ शिवनगर क्षेत्रमा ट्राफिक जाँचका क्रममा रोकिएको थियो।
प्रहरीका अनुसार मोटरसाइकलमा चालक शिवराज विनाडी, पूर्वमुख्यमन्त्री सोडारी र अर्का एक व्यक्ति सवार थिए। चेकजाँचका क्रममा चालक र ट्राफिक प्रहरीबीच भनाभन भएपछि विनाडीले हेलमेटले ट्राफिक प्रहरीमाथि प्रहार गरेको आरोप छ।
घटनापछि प्रहरीले विनाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। चालक पक्राउ परेपछि मोटरसाइकलमा रहेका अन्य दुई जना घटनास्थलबाट बाहिरिएका थिए।
घटनाले ट्राफिक नियम उल्लङ्घन, सार्वजनिक व्यक्तित्वको जिम्मेवारी र कानुनको समान कार्यान्वयनबारे बहस सुरु गराएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
