काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको कार्यशैलीलाई लिएर संगठनभित्र असन्तुष्टि बढ्दै गएको छ। पछिल्लो समय प्रदेशअन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरूसँग उनको सम्बन्ध चिसिँदै गएको मात्रै होइन, कतिपय अधिकारीले कार्यक्षेत्र नै परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रहरी स्रोतहरूको दाबी छ।
केही महिनाअघि सप्तरी र धनुषाका प्रहरी प्रमुखहरूले डिआईजी थपलियासँगको असहज सम्बन्धपछि स्वेच्छिक रूपमा सरुवा मागेका थिए। अहिले सोही शृंखलामा रौतहट र बाराका प्रहरी प्रमुख पनि प्रदेश नेतृत्वसँग मतभेदमा परेको चर्चा प्रहरी वृत्तमा भइरहेको छ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हालै रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरलाई स्पष्टीकरण सोधेको छ। प्रहरी स्रोतका अनुसार एउटै समयमा दुई जिल्लाका प्रमुखलाई स्पष्टीकरण सोधिनु सामान्य प्रशासनिक प्रक्रिया भन्दा पनि नेतृत्व र जिल्लाबीचको बढ्दो दूरीको संकेतका रूपमा हेरिएको छ।
स्रोतहरूका अनुसार पछिल्लो समय बारा र रौतहट प्रहरीले सीमावर्ती क्षेत्रमा हुने तस्करी र अवैध कारोबारविरुद्ध सक्रियता बढाएको थियो। तर जिल्ला प्रहरीको यही सक्रियताप्रति प्रदेश नेतृत्व असन्तुष्ट बनेको आरोप छ। प्रहरी स्रोत भन्छ, ‘जिल्ला प्रहरी प्रमुखहरूले केही स्थापित अवैध नेटवर्कमा हस्तक्षेप गर्न थालेपछि सम्बन्ध बिग्रिन थालेको हो।’
मधेशका केही जिल्लामा लामो समयदेखि प्रहरीभित्रकै केही व्यक्ति र सीमावर्ती अवैध कारोबारीबीच ‘लाइन मिलाउने’ प्रवृत्ति रहेको चर्चा हुने गरेको छ। स्रोतहरूका अनुसार केही जिल्ला प्रमुखहरूले यस्ता गतिविधिमाथि नियन्त्रण गर्न खोजेपछि प्रदेश कार्यालयसँगको सम्बन्ध झन् तनावपूर्ण बनेको हो।
पुरानो अडियो विवाद फेरि चर्चामा
केही समयअघि डिआईजी थपलियाको नाम जोडिएको एक अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारबाट नियमित रकम उठ्ने विषय उल्लेख गरिएको दाबी गरिएको थियो।
त्यसपछि प्रहरी प्रधान कार्यालयले प्रदेश कार्यालयमा परिचालित घुमुवा सईद्धय जयलाल यादव र गोपाल थापामगरलाई फिर्ता बोलाएको थियो। हाल प्रदेश प्रहरी कार्यालयमा इन्स्पेक्टर खेम नेपाल प्रभावशाली भूमिकामा रहेको चर्चा छ।
डिआईजी थपलियाले प्रशासन शाखाको जिम्मेवारी हेर्नेगरी इन्स्पेक्टर नेपाललाई परिचालन गरेको बताइन्छ। अहिले मधेसमा इन्स्पेक्टर नेपालको टोलीले आर्थिक संकलन गर्ने गरेको आरोप छ।
डिआईजी थपलियाको प्रत्यक्ष निर्देशनमा घुमुवाको काम गरेका इन्स्पेक्टर नेपालले तस्करीको लाइन मिलाउने गरेको बताइन्छ। स्रोतकाअनुसार नेपालले मधेसभर सबै उठ्तीपुठ्ती धन्दाको र्याकेट चलाउने गरेका छन् ।
एउटै ढाँचा, दोहोरिँदो विवाद
सप्तरीका तत्कालीन एसपी गौतमकुमार केसी र धनुषाका एसपी रुगमबहादुर कुँवरले पनि यसअघि प्रदेश नेतृत्वसँग असहजता बढेपछि सरुवा मागेको थिए। अहिले फेरि रौतहट र बाराका प्रहरी प्रमुख स्पष्टीकरणको घेरामा परेपछि मधेश प्रहरीभित्र नेतृत्व शैलीलाई लिएर नयाँ बहस सुरु भएको छ।
प्रहरी संगठनभित्र बढ्दो असन्तुष्टि, जिल्ला प्रमुखहरूमाथि हुने दबाब र सीमावर्ती जिल्लामा तस्करी नियन्त्रणलाई लिएर उठिरहेका प्रश्नहरूले डिआईजी थपलियाको नेतृत्वमाथि थप प्रश्नचिन्ह खडा गरेको प्रहरी वृत्तमा चर्चा छ।
