जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेश प्रदेशलाई अपेक्षाअनुसार सम्बोधन नगरेको गुनासो गरेका छन्।
जनकपुरधामस्थित होटल पौवाको १९औँ शाखा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले केही समयअघि प्रधानमन्त्रीसँग भएको भेटमा मधेशलाई विशेष सम्बोधन हुने गरी बजेट आउने आश्वासन पाएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताए।
एउटा कुरा गर्ने, अर्को काम गर्ने प्रवृत्ति देखियो, उनले भने, हामीले मधेश र जनकपुरलाई विशेष प्राथमिकतामा राखेर बजेट आउने अपेक्षा गरेका थियौँ, तर त्यो देखिएन।
मुख्यमन्त्री यादवले धार्मिक पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि जनकपुरले अपेक्षित प्राथमिकता नपाएको बताए। उनले भगवान रामको जन्मभूमि अयोध्यामा वार्षिक करोडौँ श्रद्धालु पुग्ने गरेको उल्लेख गर्दै माता सीताको जन्मभूमि जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न संघीय सरकारले पर्याप्त ध्यान नदिएको बताए।
उनले जनकपुरलाई ‘म्यारिज डेस्टिनेसन’ बनाउने चर्चित घोषणालाई बजेटले सम्बोधन नगरेको भन्दै त्यसका लागि प्रदेश सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्ने बताए।
मधेशमा थपिँदै गएका तारे होटलहरूले पर्यटन क्षेत्रको सम्भावना बढाएको छ, उनले भने, यदि आवश्यक सहयोग पाइयो भने जनकपुरलाई धार्मिक तथा वैवाहिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सकिन्छ।
मुख्यमन्त्री यादवले संघीय बजेटले अपेक्षा पूरा नगरे पनि प्रदेश सरकार पर्यटन, पूर्वाधार र लगानी प्रवर्द्धनका क्षेत्रमा आफ्नै पहलमा काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
