विराटनगर । रोमानिया पठाइदिने प्रलोभनमा सयौँ युवाबाट करोडौँ रुपैयाँ असुलेको आरोप लागेका मोरङका उद्धव पाठकविरुद्ध ठगी रकम ४ करोड ३८ लाख ९५ हजार रुपैयाँ नाघेको छ। हालसम्म २८६ वटा जाहेरी तथा निवेदन परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार पाठकले सञ्चालन गरेको ‘केएसए इन्टरनेसनल ग्रुप’ मार्फत वैदेशिक रोजगारीका नाममा रकम संकलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडित थपिँदै गएकाले ठगी रकम अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा पाठकका बैंक खातामा कुनै मौज्दात रकम नभेटिएको बरु सप्तकोशी विकास बैंकबाट लिएको १ करोड २८ लाख रुपैयाँ ऋण देखिएको छ। सर्वसाधारणबाट उठाइएको करोडौँ रुपैयाँ कहाँ गएको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले पाठकको कार्यालयबाट १४६ थान राहदानी बरामद गरेको छ। हालसम्म ३२ वटा राहदानी सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ भने बाँकी लिन सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
प्रहरीका अनुसार ठगी प्रकरणमा पाठक एक्लै नभई समूह नै संलग्न छ। अर्जुनकुमार भट्टराई, बद्री पाण्डे, विकास बस्नेत र हरिप्रसाद लोहा फरार छन्। पक्राउ परेका पाठक र लेखापाल अभि भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ।
विदेश जाने सपना देखेर ऋणसमेत काढेका सयौँ युवाको रकम डुबेपछि अहिले मोरङमा पीडितहरूको भीड प्रहरी कार्यालय पुग्ने क्रम जारी छ।
