जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले एक वर्षको अवधिमा पाँचौँ कार्यालय प्रमुख पाएको छ। प्रहरी प्रधान कार्यालयले एसपी रुपेश खड्कालाई धनुषाको नयाँ प्रहरी प्रमुखका रूपमा खटाएको हो।
यसअघि धनुषाका प्रहरी प्रमुख रहेका एसपी अमरेन्द्रबहादुर सिंह हालै एसएसपीमा बढुवा भएपछि रिक्त भएको जिम्मेवारी खड्काले सम्हाल्ने भएका हुन्।
पछिल्लो एक वर्षयता धनुषा प्रहरीको नेतृत्व बारम्बार परिवर्तन हुँदै आएको छ। प्रहरी नेतृत्व र व्यवसायीबीचको सम्बन्ध तथा संगठनभित्रकै विभिन्न विवादका कारण यहाँ खटिएका प्रहरी प्रमुखहरू छोटो समयमै फेरिएका छन्।
तत्कालीन एसपी भुवनेश्वर तिवारी र नरहरि रेग्मी व्यवसायीसँगको लेनदेन प्रकरणमा विवादमा तानिएपछि सरुवामा परेका थिए।
एसपी रेग्मीपछि धनुषाको नेतृत्व सम्हालेका एसपी रुगमबहादुर कुँवर पनि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआईजी गोविन्द थपलियासँगको विवादका कारण सरुवामा परेका थिए। स्रोतका अनुसार व्यवसायिक क्षेत्रका व्यक्तिहरूसँगको सम्बन्धलाई लिएर उनीहरूबीच मतभेद भएको थियो।
त्यसपछि एसपी अमरेन्द्रबहादुर सिंह धनुषा प्रहरी प्रमुखका रूपमा खटिएका थिए। तर, जिम्मेवारी सम्हालेको केही समयमै उनी एसएसपीमा बढुवा भएपछि धनुषाले फेरि नयाँ नेतृत्व पाएको छ।
एसपी खड्का २०६१ जेठ १५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा सेवा प्रवेश गरेका थिए। उनी २०७१ फागुन ११ गते डिएसपीमा र २०८० जेठमा एसपीमा बढुवा भएका हुन्।
खड्काले यसअघि जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व सम्हालिसकेका छन्। अब उनले विवाद र नेतृत्व परिवर्तनको शृङ्खलाबाट गुज्रिरहेको धनुषा प्रहरीको कमाण्ड सम्हाल्दै जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको जिम्मेवारी निर्वाह गर्नेछन्।
