रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत खरिदार मुकेश पटेलमाथि भ्रष्टाचारमार्फत अकुत सम्पत्ति आर्जन गरेको आरोप लाग्दै स्थानीयस्तरमा उच्चस्तरीय छानबिनको माग उठेको छ।
स्थानीयबासी तथा स्रोतहरूको दाबीअनुसार पूर्व मेयर धर्मेन्द्र पटेलदेखि वर्तमान मेयर प्रेमलाल साहको कार्यकालसम्म सामाजिक तथा योजना शाखामा कार्यरत रहेका पटेलले आफन्तका फर्म तथा अनुकूल गैरसरकारी संस्थामार्फत विभिन्न योजना सञ्चालन गरी आर्थिक अनियमितता गरेको आरोप छ।
नगरपालिकासँग सम्बद्ध स्रोतहरूका अनुसार योजनाको बजेट वितरणमा प्रभाव जमाउँदै पटेलले केही योजनाबाट ठूलो रकम कमिसन असुल्ने गरेको र कतिपय योजनामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भई आर्थिक लाभ लिने गरेको आरोप लगाइएको छ।
यस्तै, भ्रष्टाचारबाट आर्जन गरिएको भनिएको रकम मिटरब्याज कारोबारमा समेत लगानी गरिएको आरोप छ।
गौर नगरपालिका–४ टिकुलिया निवासी पटेलले दर्जनौं व्यक्तिलाई चर्को ब्याजदरमा ऋण दिएको तथा ऋणको बदलामा घरजग्गा आफ्नो वा परिवारका सदस्यको नाममा गराउने गरेको स्थानीयको दाबी छ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा राष्ट्रिय सतर्कता केन्द्रले निष्पक्ष छानबिन गर्नुपर्ने माग स्थानीयबासीले गरेका छन्। उनीहरूले पटेलको सम्पत्ति स्रोत र तीन पुस्तेसम्मको आर्थिक विवरण समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन्।
यता, आरोपित कर्मचारी मुकेश पटेलले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले आफूले तलबबाहेक कुनै पनि अवैध आम्दानी नगरेको दाबी गर्दै आरोपहरू निराधार रहेको बताएका छन्।
