काठमाडौं । बढुवापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बनेका अमरेन्द्र बहादुर सिंहलाई दर्ज्यानी चिन्ह (फुली) लगाइएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सिंहसहित पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका हुन्।
एसएसपी सिंह बढुवाअघि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुखका रूपमा कार्यरत थिए। प्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको २१ जेठको निर्णयबाट उनी जनपदतर्फ प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका थिए।
समारोहमा प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई दिँदै बढेको जिम्मेवारीलाई व्यावसायिकता, इमानदारिता र उत्तरदायित्वका साथ निर्वाह गर्न निर्देशन दिएका थिए। उनले पदोन्नतिसँगै संगठनप्रति थप जवाफदेही र संवेदनशील भएर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै एसएसपी सिंहले संगठनले दिएको जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहँदै अझ प्रभावकारी ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाल सरकारको निर्णयअनुसार जनपद र प्राविधिक समूह गरी एसएसपी, एसपी, डीएसपी र इन्स्पेक्टर पदमा पदोन्नति भएका कुल ४७ अधिकृतमध्ये ४४ जनालाई शुक्रबार दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको नेपाल प्रहरीले जनाएको छ।
