झापा । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुंग्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति करिब ३० वर्षीय भारतीय नागरिक हुन्। उनी दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए। अनुसन्धानका क्रममा मृतक तिवारी र आरोपितबीच पहिलेदेखि नै चिनजान रहेको खुलेको छ।
प्रहरीको अनुसन्धानअनुसार घटनाअघि दमकस्थित सगरमाथा पेट्रोल पम्प नजिकको झाडी क्षेत्रमा आरोपित र तिवारीबीच दुई पटक शारीरिक सम्पर्क भएको थियो। त्यसबापत आरोपितले प्रत्येक पटक एक हजार रुपैयाँ दिएको र पछि सोही रकमको विषयलाई लिएर विवाद भएको देखिएको छ।
प्रारम्भिक अनुसन्धानले विवाद चर्किंदै जाँदा आरोपितले तिवारीको घाँटी थिचेर हत्या गरेको देखाएको छ। हत्या गरेपछि घटनालाई लुकाउन शव मोटरसाइकलमा राखी दमक–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि लगेर फालिएको प्रहरीको निष्कर्ष छ।
गत जेठ १६ गते रतुवा खोलामा बोराभित्र महिलाको शव फेला परेपछि घटनाले व्यापक चर्चा पाएको थियो। शवको पहिचानपछि प्रहरीले प्राविधिक विश्लेषण, मोबाइल फोनको विवरण तथा स्थानीय सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनामा प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी कार्यालय झापाले केही बेरमा पत्रकार सम्मेलन गरी घटनाको आधिकारिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। पत्रकार सम्मेलनपछि पक्राउ परेका व्यक्तिको परिचय, पक्राउ प्रक्रिया तथा अनुसन्धानबाट खुलेका थप तथ्य सार्वजनिक गरिने बताइएको छ।
