काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत केही प्रहरी कर्मचारीमाथि पैसाको लेनदेनमा महिला र पुरुष कैदीबीच भेटघाट गराइदिने गरेको गम्भीर आरोप लागेको छ। विदाको दिन पारेर कारागारमा लामो समयदेखि कार्यरत प्रहरीहरुले त्यसरी महिला-पुरुषलाई भेटाइदिने गरेको खुलेको हो।
स्रोतका अनुसार त्यसरी भेटाइदिए बापत प्रहरीले १० हजारदेखि ४० हजारसम्म लिने गरेका छन् । विशेषगरी कारागारभित्र प्रभावशाली मानिने चौकीदार, मुख्य नाइके, नाइके, भाइनाइके र सहनाइकेहरूलाई महिला कैदीसँग भेटाइदिने गरेका हुन्।। उनीहरुलाई प्रहरीकै रोहबरमा भेट गराइन्छ।
जबकी केन्द्रीय कारागारको परिसरभित्र महिला बन्दीगृह, भद्र कारागार र केन्द्रीय कारागार गरी ३ वटा खण्ड (सेक्सन) छ । जसमध्ये महिला कारगारमा ३ वटा ब्लक, भद्र कारगारमा ३ वटा ब्लक र केन्द्रीय कारगारमा ९ वटा ब्लक छ । एउटा ब्लकमा नाइके, भाइनाइके, पत्रिका नाइके, सहनाइके, मुख्य नाइके, चौकीदारहरु गरेर कम्तीमा पनि २० देखि ३० जनासम्म हुन्छन्।
त्यहि चौकीदार, नाइके, भाइनाइके, सहनाइकेलगायतहरुलाई प्रहरीले ‘वान्टन’ गाडीमा राखेर महिला कैदी भएको ठाउँमा लगेर भेट गर्न दिइन्छ । स्रोत भन्छ, ‘पुरुष कैदीहरुलाई चाहिँ लगेर महिला कैदी भेटाइदिने हो। महिलालाई लिएर जाने होइन । अरुले देख्छ कि भनेर गाडीमा हालेर एकपटकमा ३० देखि ४० जनालाई लैजाने गरिन्छ ।’
महिला-पुरुष कैदीबीच भेटको चाँजोपाँजो कसले मिलाउँछ ?
यसरी पुरुष कैदीलाई महिला कैदी भेटाउने कामको चाँजोपाँजो मिलाउने काममा ३ जना प्रहरी सक्रिय छन् । विगत १६, १७ वर्षदेखि कारागारमै कार्यरत रहेका प्रहरी सहायक निरीक्षक (असई) बलराम महत, प्रहरी हवल्दार ढालबहादुर खत्री र सहायक हवल्दार पाण्डव ढुंगल रहेका छन् ।
जसको मुख्य नाइके असई महत हुन् । उनै महतको निर्देशनपछि खत्री र ढुंगेलले विदाको दिन पारेर पुरुष कैदी र महिला कैदीलाई भेट गराउने गर्छन्। खत्री १२ वर्षदेखि कारागारमै कार्यरत छन् भने ढुंगेल ९ वर्षदेखि कारागारमै कार्यरत छन् । लामो समयदेखि त्यहिँ बसेर उनीहरुले अकुत सम्पत्ति समेत आर्जन गरेको आरोप लागेको छ।
कारागारका नाइके, चौकीदारहरुसँग सम्बन्ध स्थापित गरेर यि ३ जना प्रहरीले कारागार प्रशासन र आफ्नो कार्यालय प्रमुखलाई गुमराहमा पारेर यस्तो काम गर्दै आइरहेका छन् । जुनकुरा हालैको एक घटनाले समेत पुष्टि गरेको छ ।
सामाखुसी होटल घटनासँग जोडिएको प्रश्न
१ जेठमा सामाखुसीस्थित विनायक अस्पताल तथा प्रसुति गृह प्रा.लि.मा ढाड सम्बन्धी रोगको उपचार गर्न भनेर कारागारबाट लगिएका एक कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर खुवाइएको घटना सार्वजनिक भएको छ।
ठगी मुद्दामा कैद भुक्तान गरिरहेका अनुप भण्डारीलाई सामाखुसीस्थित होटल दिपसागरको कोठा नम्बर ५०२ मा अन्दाजी ३२ वर्षीय महिलासँग राखेर मासु र बियर खुवाइएको घटना बाहिर आएको हो। यस घटनामा सहायक हवल्दार होम बहादुर कुँवर र जवान टेक बहादुर विकलाई प्रहरी सेवाबाटै हटाउने गरी कारबाही सिफारिस गरिएको छ ।
तर, यस घटनामा निष्पक्ष छानबिन नहुँदा ती प्रहरीहरुमाथि अनाहकमा कारबाही भएको बुझ्न सकिन्छ । जतिबेला ती कैदी भण्डारीलाई असई महतको निर्देशनमा प्रहरी हवल्दार ढालबहादुर खत्रीले नै पठाएका थिए। उपचारको बहानामा कागज बनाएर एक युवतीसँग भेट गर्नकै लागि पठाएको स्रोत बताउँछ।
छानबिनमै उठ्यो प्रश्न
केन्द्रीय कारागारको सुरक्षा कमाण्ड डीएसपी शैलेश न्यौपानेले गरेका छन् । केन्द्रीय कारगारमा खटिने प्रहरीहरु उपत्यका प्रहरी कार्यालय, रानीपोखरी मातहत पर्छ । जसको कमाण्डमा छन् एआईजी ईश्वर कार्की ।
प्रहरी नियमावली २०७१ अनुसार उपचारका लागि अस्पताल पठाइएको कैदीलाई अन्य स्थानमा लैजानु हुँदैन । कैदीलाई मादक पदार्थ सेवन गर्न र महिलासँग बस्न दिने काम झनै गम्भीर विषय हो ।
घटनाबारे थाहा पाएपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसपी नरहरी रेग्मी नेतृत्वको छानबिन समितिले आन्तरिक छानबिन गरेर एआईजी कार्कीलाई प्रतिवेदन त बुझाएको छ। तर, प्रतिवेदनमा २ जना प्रहरीलाई मात्र दोषी देखाएर अरुलाई उम्काइएको छ ।
जतिबेला सहायक हवल्दार कुँवर र जवान विकलाई कसले विदाको दिन उपचारको लागि भनेर सामाखुसी पठाएको थियो ? भनेर छानबिन समितिले त्यहाँ कार्यरत प्रहरीहरुसँग एकपटक सोधपुछ समेत नगरेको पाइएको छ । त्यतिमात्र नभएर समितिले डीएसपी न्यौपानेको भूमिकाबारे पनि केही बोलेको छैन ।
जसले गर्दा एसपी नेतृत्वको छानबिन समितिको अनुसन्धान नै बाइपास रहेको छ । सामाखुसी घटनामाको अनुसन्धानमै प्रश्न उठेको छ।
को हुन् असई महत ?
प्रहरी जवानमा प्रवेश गरेका महत असई हुँदासम्म त्यहिँ कार्यरत छन् ।
लामो समयदेखि कारागारको कारगार दरबन्दी भएका असई महत क्वार्टरमास्टर पनि हुन् । क्वार्टरमास्टर भन्नाले प्रहरीमा खानाको व्यवस्थापन हेर्ने अधिकारी हुन्। जसले खाएपनि नखाएपनि असई महतले पैसा लिएर दुःख दिने गरेको समेत गुनासो छ । आफ्नै कोठामा खान्छु भन्नेलाई त्यहाँ टिक्न नदिने समेत गरेको पाइएको छ ।
त्यतिमात्र होइन, कारागारभित्रको प्रहरी प्रशासनको जिम्मेवारी पनि असई मतहलाई नै दिइएको छ । त्यसैले कुन प्रहरीलाई कहाँ खटाउने, कसलाई कहाँ पठाउने सबैको हर्ताकर्ता हुन् असई महत। भेटघाटको रकेट चलाउने महतले कारागारमा बाहिर जाने, नजाने, कसलाई भेटाउने, कसलाई नभेटाउने उनकै हातमा छ।
आरोपबारे जेलरको प्रतिक्रिया
यस विषयमा सुन्धारास्थित केन्द्रीय कारागारका जेलर (कारागार प्रशासक) कृष्ण चापागाईंले पैसा लिएर महिला र पुरुष कैदीलाई भेट गराइने गरेको आरोप निराधार रहेको दाबी गरेका छन्।
स्कुपखबरसँग कुराकानी गर्दै उनले महिला-पुरुष कैदीबीच हुने भेटघाट कारागार प्रशासनको स्वीकृतिमा हुने गरेको बताए। ‘पैसा लिएर भेटाइन्छ भन्ने कुरा हल्ला मात्र हो,’ उनले भने, ‘अरू दिन बाहिरबाट भेट्न आउने व्यक्तिहरूको चाप हुन्छ। त्यसैले कारागारभित्र रहेका व्यक्तिहरूलाई विदाको समय पारेर भेटघाटको व्यवस्था गरिन्छ।’
चापागाईंले आफूले स्वीकृति दिएपछि मात्र त्यस्ता भेटघाट हुने दाबी गरे। “यहाँ एउटै परिवारका सदस्यहरू पनि कैद जीवन बिताइरहेका हुन्छन्। कोही श्रीमान-श्रीमती हुन्छन्। त्यस्तो अवस्थामा मानवीय आधारमा भेटघाटको व्यवस्था गर्नुपर्छ,” उनले भने।
श्रीमान-श्रीमती बाहेक अन्य महिला र पुरुष कैदीबीच पनि भेटघाट हुने गरेको आरोपबारे प्रश्न गर्दा चापागाईंले त्यस्तो नभएको दाबी गरे। ‘महिला कारागार र केन्द्रीय कारागारबीच दूरी भएकाले गाडी प्रयोग गरिएको हुन सक्छ,’ उनले भने, ‘तर यस विषयमा मलाई विस्तृत जानकारी छैन।’
यता, केन्द्रीय कारागारको सुरक्षा कमाण्ड सम्हालिरहेका डीएसपी न्यौपानेसँग प्रतिक्रिया लिन पटक-पटक सम्पर्क प्रयास गरिए पनि उनी सम्पर्कमा आएनन्। मोबाइलमा पठाइएको सन्देशको समेत उनले कुनै जवाफ दिएनन्।
