काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ। बराइली हाल धनकुटास्थित रेडियो धनकुटाका अध्यक्षसमेत हुनुहुन्छ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाललाई निर्वाचित गरेको छ।
त्यसैगरी खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान (अवलोकृत डटकम) तथा बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) निर्वाचित हुनुभएको छ।
त्यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा नरभूपाल विक, लुम्बिनी प्रदेश उपाध्यक्षमा मानसिंह विक, कर्णाली प्रदेश उपाध्यक्षमा टेकेन्द्र रसाइली, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम विक तथा समावेशी उपाध्यक्षमा भिमबहादुर गन्धर्व निर्वाचित हुनुभएको छ।
महासचिवमा करन ताम्राकार निर्वाचित हुँदा सचिवमा चिन्ता परियार, राजेश कुमार पासवान, सुनिता नेपाली र बसन्त विश्वकर्मा चयन हुनुभएको छ।
कोषाध्यक्षको जिम्मेवारी सञ्जय सौगातले पाउनुभएको छ।
त्यसैगरी केन्द्रीय सदस्यहरूमा खप्तड टिभीका सम्पादक गणेश विकसहित हिरा परियार, कर्णबहादुर विक, कुशल दलामी, अमिर रामदाम, मनिष विक, अम्बिका परियार, अर्चना परियार, सुवास राम, मिना विश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार र पी.बी. दियाली निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष बराइलीका अनुसार दलित समुदायका पत्रकारहरूको अधिकार सुनिश्चित गर्दै जातीय भेदभाव तथा छुवाछूत अन्त्य, सामाजिक समावेशीकरण प्रवर्द्धन तथा मिडियामार्फत सामूहिक पैरवी गर्ने उद्देश्यले २०७६ सालमा सङ्घ स्थापना गरिएको हो।
सङ्घमा हाल देशभरका करिब १,५०० दलित समुदायका पत्रकार क्रियाशील रहेका छन्।
महाधिवेशनले आगामी कार्यकालमा दलित पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि, अधिकार संरक्षण तथा समावेशी सञ्चार अभ्यासलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


