काठमाडौं । विवादित प्रहरी हवल्दार बैजुलाल यादव पछिल्लो समय प्रहरी संगठनभित्र आफ्नो रजगज देखाएर शक्तिशाली बन्न खोजिरहेका छन्। प्रहरी प्रधान कार्यालयले ‘घुमुवा’ (सिभिल) प्रहरीहरूलाई हटाएर संरचना शुद्धीकरण गर्ने निर्णय गरेपछि अन्य धेरैजस्तै यादव पनि तानिए- तर त्यसपछि झनै उनको गतिविधि सामान्य प्रक्रियाभन्दा बाहिर गएको छ।
गत माघसम्म जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दरबन्दी भई सिभिल (घुमुवा) भूमिकामा सक्रिय रहेका यादवलाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय तान्ने निर्णय गर्यो। उनले औपचारिक रूपमा रमाना बुझे पनि हेडक्वार्टरमा नियमित हाजिर भने भएनन्। बरु, त्यसपछि उनी राजनीतिक गतिविधिमा संलग्न भए।
विशेषगरी २१ फागुनतिर सम्पन्न निर्वाचनको समयमा यादवले आफ्नो ड्युटी त्यागेर रास्वपा नेता अमरेश कुमार सिंहको चुनावी अभियानमा खुलेआम सक्रियता देखाएको बताइन्छ। प्रहरी स्रोतका अनुसार, त्यतिबेला संगठनमा जनशक्ति अभाव हुँदा समेत उनी निर्वाचन ड्युटीमा खटिएनन्।
‘प्रहरीलाई निर्वाचनका लागि व्यापक रूपमा परिचालन गरिँदै थियो, तर उनी कतै पनि खटिएको देखिएन,’ एक उच्च स्रोतले बतायो। यो विषय प्रहरी प्रधान कार्यालयसम्म पुगेको बताइए पनि त्यसबेला कुनै ठोस कारबाही नभएको दाबी गरिन्छ। बरु, चुनावपछि स्थिति झनै फरक दिशामा मोडिएको देखिन्छ। सिंहको जितसँगै यादवको प्रभाव बढ्दै गएको चर्चा प्रहरी वृत्तमा छ।
प्रहरी स्रोतका अनुसार यादवले आफूलाई सांसद अमरेश सिंहको ‘निकट व्यक्ति’ भन्दै हिँड्ने गरेका छन्। उनले प्रहरी नेतृत्वसमेत आफूविरुद्ध केही गर्न नसक्ने अभिव्यक्ति दिने गरेको आरोप छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नाम जोडेर समेत प्रभाव देखाउने प्रयास हुने गरेको आरोपले संगठनभित्र असन्तुष्टि बढेको बताइन्छ।
मधेश क्षेत्रमा भने यादवलाई लागूऔषध कारोबारसँग सम्बन्धित ‘सेटिङ’ मिलाउने व्यक्तिका रूपमा चिनिने गरिएको स्थानीय स्रोतहरू बताउँछन्। विशेषगरी गाँजा तस्करीसँग सम्बन्धित समूहसँग उनको निकटता रहेको चर्चा लामो समयदेखि चल्दै आएको दाबी गरिएको छ।
हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा यादवको दरबन्दी छ। कारबाहीस्वरुप तानिएका उनी १ नम्बर गणमा हुनुपर्ने हो। तर यादव अहिले धनुषास्थित विशेष सुरक्षा गण ढल्केबरमा कार्यरत छन् । जहाँबाट उनले मधेस प्रदेशमा आईजीपी कार्की र सांसद सिंहको नाममा घुमुवाको शैलीको गतिविधि सञ्चालन गरिरहेको आरोप लगाइएको छ।
आईजीपी कार्कीले पछिल्लो समय ‘जसको दरबन्दी जहाँ छ, त्यहीँ जिम्मेवारीमा फर्किनुपर्ने’ भन्दै कडा निर्देशन जारी गरेका थिए। सोही निर्देशनअनुसार विभिन्न जिल्लामा रहेका प्रहरी कर्मचारीलाई धमाधम दरबन्दी भएको ठाउँमा फिर्ता पठाइएको थियो। तर, यादव भने काज मिलाएर धनुषाको ढल्केबरस्थित गणमै बस्न सफल भएको स्रोतको दाबी छ।
एक उच्च अधिकारीका अनुसार काज सरुवा मिलाउने बेलामा ती हवल्दार यादवले साउण्ड स्पिकर अन गरेर सांसद सिंहलाई फोन गरेर रमाना तत्काल दिनसमेत भनेका थिए । यसले प्रहरी संगठनभित्र उनले राजनीतिक तथा संगठनात्मक पहुँचका आधारमा प्रभाव जमाएको चर्चा झन् बलियो बनेको छ।
स्रोतका अनुसार यादवले विभिन्न तस्करीमा संलग्न भनिएका व्यवसायीहरूलाई फोनमार्फत दबाब दिने, राजनीतिक पहुँच देखाएर ‘सेटिङ’ मिलाउने र रकम असुल्ने प्रयास गर्ने गरेका छन्। अझ, सांसद सिंह नै आगामी गृहमन्त्री बन्ने भन्दै त्यसैको प्रभाव देखाएर रकम उठाउने गरेको आरोपसमेत लागेको छ।
हवल्दार यादवले महोत्तरीको बर्दीबास, जलेश्वर, धनुषाको जनकपुर बोलाएर कपडा र हार्डवेयर तस्कर सुरेश साह र गाँजा व्यापारी हरिलाई दिनहुँ जस्तै भेटिरहने गरेको पाइएको छ । २ दिनअघि मात्रै उनले गाँजा व्यापारी हरिलाई महोत्तरीको बखरी चोकमा भेटेका थिए ।
यति मात्र होइन, प्रहरी महानिरीक्षकको सचिवालयसम्म आफ्ना गतिविधिबारे जानकारी पुगेको भए पनि आफूलाई कसैले कारबाही गर्न नसक्ने दाबी गर्दै हिँड्ने गरेको आरोप छ। यसले प्रहरी संगठनभित्र ‘उहाँलाई कसैले छुन सक्दैन’ भन्ने मनोविज्ञान विकास हुँदै गएको भन्दै धेरै प्रहरी कर्मचारी असन्तुष्ट रहेको बताइन्छ।
अझ गम्भीर प्रश्न भने अर्को ठाउँमा उठेको छ- यादवसँगै प्रहरी हेडक्वार्टर तानिएका अन्य घुमुवा प्रहरीमाथि भने विभिन्न किसिमका कारबाही भएको स्रोतहरू बताउँछन्। तर उही प्रकृतिको निर्णयअन्तर्गत तानिएका यादवमाथि किन कुनै प्रभावकारी कारबाही भएन भन्ने प्रश्नले प्रहरी संगठनभित्रै असन्तुष्टि र शंका जन्माएको छ।
प्रहरी संगठनभित्र अनुशासन, निष्पक्षता र आदेश पालनाको संस्कृति कायम राख्नु नेतृत्वको प्रमुख जिम्मेवारी हो। तर एउटै प्रकृतिको कसुरमा अरूमाथि कारबाही हुने र एक व्यक्तिमाथि नहुने अवस्था देखिनु आफैंमा गम्भीर विषय भएको विश्लेषकहरू बताउँछन्। यसले संगठनभित्र समान व्यवहारको सिद्धान्तमै प्रश्न उठाएको छ।
