चितवन । नारायणगढस्थित वडा प्रहरी कार्यालयकै छेउमा सञ्चालित केही होटल तथा क्लबमा अवैध गतिविधि भइरहेको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन्। त्यहाँ बसोबास गर्ने सिग्देल, सुनार, यादव थरका स्थानीयले ती होटलमा लामो समयदेखि शंकास्पद गतिविधि सञ्चालन हुँदै आएको बताएका हुन्।
स्थानीयका अनुसार यस विषयमा पटक–पटक प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत कुनै ठोस कदम चालिएको छैन। स्रोतका अनुसार होटलहरूमा भइरहेको अवैध गतिविधिबारे जानकारी जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेको भए पनि प्रभावकारी कारबाही हुन नसकेको आरोप छ।
यस विषयमा यसअघि पनि समाचार प्रकाशन भइसकेको बताइएको छ।
स्रोतले दाबी गरेअनुसार महिनौँदेखि प्रहरीलाई जानकारी हुँदाहुँदै पनि वडा प्रहरी कार्यालय मौन बस्नु र गतिविधि नियन्त्रणतर्फ चासो नदेखाउनु गम्भीर विषय बनेको छ। ‘प्रहरीकै नाकैमुनि यस्तो गतिविधि सञ्चालन हुनु र प्रशासन चुप बस्नुले संरक्षणको आशंका बढाएको छ,’ सुनार थरका ती स्थानीयले बताए।
यता स्थानीय व्यवसायीहरूले भने नियमअनुसार सञ्चालन भइरहेका होटल तथा व्यवसायलाई प्रहरीले अनावश्यक दुःख दिने गरिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अवैध गतिविधिमा संलग्न भनिएका होटलमाथि कारबाही नगर्ने तर वैधानिक रूपमा सञ्चालन भइरहेका व्यवसायलाई बारम्बार दबाब दिने कार्यले वडा प्रहरी कार्यालय नारायणगढको भूमिकामाथि थप प्रश्न उठाएको छ।
स्रोतका अनुसार केही होटल तथा क्लबबाट मासिक १० देखि १५ हजार रुपैयाँसम्म रकम उठाइने गरेको चर्चा समेत बाहिरिएको छ। होटल तथा क्लबबाट मासिक रकम उठाउन सिभिल प्रहरी परिचालन गर्ने गरिएको जानकारी समेत प्राप्त भएको स्रोतले जनाएको छ। उक्त रकमको बदलामा केही व्यवसायलाई विभिन्न अवैध गतिविधिमा छुट दिने गरिएको आरोप पनि स्थानीयले लगाएका छन्।
प्रमाणहरू सुरक्षित रहेका छन् । अडिओसमेत सुरक्षित छ ।
यो पनि पढ्नुहोस्…
नारायणगढ वडा प्रहरी: राति होटल चहार्दै असुली, कार्यक्रममै छिरेर हंगामा गर्ने इन्स्पेक्टर टोली
नारायणगढमा प्रहरीकै भूमिकामाथि प्रश्न: असुली र सेटिङका आरोपले तातेको बजार
नारायणगढ वडा प्रहरीकै संरक्षणमा अवैध गतिविधि संचालन
चोरीको प्रमाणसहित पुगेका पीडित भन्छन्- ‘नारायणगढ प्रहरीले वास्तै गरेन’ [अडिओसहित]
