काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले ४६ जना प्रहरी उपरीक्षक (एसपी) र १४९ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेसँगै प्रहरी संगठनभित्र सकारात्मक सन्देश गएको छ । गृहमन्त्री नहुँदा केही समय रोकिएको सरुवाको सूची शुक्रबार साँझ सार्वजनिक गरिएको हो ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवाको अधिकार प्रहरी महानिरीक्षकलाई नै रहेको छ । सोही अधिकार प्रयोग गर्दै आईजीपी कार्कीले संगठनभित्र लामो समयदेखि उठ्दै आएको गुट, पहुँच र दबाबको राजनीतिभन्दा फरक शैलीमा सरुवा गरेको चर्चा प्रहरी वृत्तमा सुरु भएको छ ।
यसपटकको सरुवाको मुख्य विशेषता भनेको विवादरहित, पारदर्शी र अवसरमुखी हुनु रहेको प्रहरी अधिकारीहरू बताउँछन् । विगतमा नेतृत्व निकट व्यक्तिहरूलाई मात्रै जिल्ला इन्चार्ज वा महत्वपूर्ण जिम्मेवारी दिने प्रवृत्ति रहेको आरोप लाग्ने गरेको थियो । तर अहिलेको सरुवामा भने जिल्ला इन्चार्ज बन्ने अवसर नपाएका एसपीहरूलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै डिएसपी तहमा पनि लामो समयदेखि इन्चार्जको जिम्मेवारी नपाएका अधिकृतहरूले अवसर पाएका छन् । संगठनभित्र खासै चर्चामा नरहेका तथा कुनै गुटसँग नजोडिएका अधिकारीहरू समेत महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन् । यसले प्रहरी संगठनभित्र मेहनत र कार्यक्षमताको मूल्यांकन हुन थालेको सन्देश गएको बताइन्छ ।
यसपटकको सरुवामा अर्को महत्वपूर्ण पक्ष भनेको निश्चित समयावधि पूरा गरेका अधिकृतहरूलाई मात्रै सरुवा गरिएको छ । आईजीपी कार्कीले एक वर्ष कार्यअवधि पूरा गरेका अधिकृतहरूलाई मात्र सरुवामा समेटेका छन् । अहिले सार्वजनिक गरिएको सूचीमा पनि उक्त मापदण्ड स्पष्ट रूपमा देखिएको प्रहरी स्रोत बताउँछ । यसले सरुवालाई थप व्यवस्थित, नीतिसम्मत र निष्पक्ष बनाएको टिप्पणी भइरहेको छ ।
प्रहरी मुख्यालय स्रोतका अनुसार आईजीपी कार्कीले संगठनभित्र गुटबन्दी अन्त्य गर्ने, सरुवा–बढुवालाई पारदर्शी बनाउने र कार्यसम्पादनलाई मुख्य आधार बनाउने रणनीति अघि सारेका छन् । त्यसैअनुसार यसपटकको सरुवामा व्यक्तिगत पहुँचभन्दा कार्यक्षमता, अनुभव र आवश्यकता हेरिएको बुझिएको छ ।
प्रहरी संगठनभित्र विगतमा सरुवालाई लिएर व्यापक असन्तुष्टि, दबाब र चलखेल हुने गरेको चर्चा हुने गर्थ्यो । तर यसपटक भने सरुवाप्रति तुलनात्मक रूपमा सन्तुष्टि देखिएको छ । धेरै अधिकारीहरूले यसलाई ‘सन्तुलित र सकारात्मक’ कदमका रूपमा लिएका छन् ।
समग्रमा यसपटकको एसपी र डिएसपी सरुवालाई प्रहरी संगठनभित्र पारदर्शिता, निष्पक्षता र नयाँ कार्यसंस्कृतिको सुरुवातका रूपमा हेरिएको छ ।
यो पनि पढ्नुहोस्..
४६ जना एसपीको सरुवा [सुचीसहित]
नेपाल प्रहरीका डीएसपीहरुको सरुवा, को कहाँ पुगे? [सुचीसहित]
