काठमाडौं । दरबारमार्गस्थित सारंगी रेस्टुरेन्टमा भएको विवादपछि तीन जना मजदुर पक्राउ परेको घटनामा अमेरिका बस्दै आएका नेपाली कांग्रेस निकट नेता राजेश पाण्डेले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
घटनापछि विभिन्न आरोपहरू सार्वजनिक भइरहेका बेला पाण्डेले आफूविरुद्ध गलत बुझाइ फैलाइएको दाबी गर्दै रेस्टुरेन्टमै आफू असहज परिस्थितिमा परेको बताएका छन्। उनका अनुसार उनीहरूकै निमन्त्रणामा उक्त रेस्टुरेन्टमा पुगेका थिए र त्यहाँ पहिले देखिकै चिनजान समेत रहेको थियो।
पाण्डेका अनुसार रेस्टुरेन्टमा बस्दै जाँदा मदिरा सेवनका क्रममा बिलसम्बन्धी सामान्य विवाद भएको थियो। उनले बिल भुक्तानीका लागि कार्ड प्रयोग गर्न चाहेको तर रेस्टुरेन्ट पक्षले अस्वीकार गरेको दाबी गरेका छन्। यसै कारण विवाद बढ्दै गएको उनको भनाइ छ।
त्यसपछि आफूलाई रेस्टुरेन्टभित्रै रहेको छुट्टै कोठामा लगेर सोधपुछ गरिएको र आफूलाई ‘थुनुवा जस्तो’ व्यवहार गरिएको उनले बताएका छन्। सो क्रममा रेस्टुरेन्टका कर्मचारीहरूले आफ्नो मोबाइल फोनमा अर्कै व्यक्तिको नम्बर सेभ गरिदिएको दाबी समेत उनले गरेका छन्।
पाण्डेले घटनाको वास्तविकता रेस्टुरेन्टमा जडित सीसीटीभी फुटेजबाट स्पष्ट हुने दाबी गरेका छन्। उनले आफूलाई पैसासँग खास सरोकार नभएको बताउँदै घटनालाई फरक ढंगले प्रस्तुत गरिएको संकेत गरेका छन्।
पाण्डेको भनाइ जस्ताको त्यस्तै:
‘हो म उनीहरुले नै बोलाएर त्यो रेस्टुरेन्ट गएको हो। यसअघि पहिला पनि गएकाले चिनजान थियो। खादै गएपछि अलिअलि रक्सी लागेको थियो। बिलमा केही विवाद भएको हो। तर उनीहरुलाई कार्डबाट पैसा काट भन्दा पनि मिल्दैन भने अनि नभए ठमेलमा होटलमा गएर ल्याउ भन्दा पनि मानेनन्।
त्यसपछि मलाई उनीहरुले होटलको छुट्टै एउटा थुनुवा जस्तो कोठामा लगेर केरकार गरे, त्यहाँ उनीहरु कन्फ्युज भएपछि उनीहरुले मेरो फोनमा एउटा नम्बर सेभ गरिदिए।
त्यसपछि मैले भोलिपल्ट उक्त नम्बरमा फोन गरेर किन यस्तो गरेको? कार्डबाट पैसा लिनु भन्दाभन्दै मलाई किन होटलभित्र थुनेको? यावत कुराहरु सोध्दा त्यो फोन अर्जुन जंग रायमाझीलाई पो परेछ। पछि थाहा पाए आफ्नो नम्वर भनेर मेरो फोनमा अर्कैको नम्बर सेभ गरिदिएछन्।
त्यसपछि रायमाझीले परिसरमा खबर गरेछन्। अनि मलाई परिसरबाट फोन आयो। परिसरले बोलाएपछि म आफै रमेश सरलाई भेट्न जाने सोचमा थिए। रमेश सर अर्थात काठमाडौं प्रहरी प्रमुखसँग मेरो पारिवारिक सम्बन्ध जस्तै छ। अमेरिका जादा उहाँ, उहाँको दाइ रामेश्वर थापा मेरै घरमा बस्नुहुन्छ।
त्यसपछि मैले उहाँलाई परिसरबाट फोन आएको कुरा सुनाए। उहाँले यहाँ आएर बुझ्नु न भनेपछि परिसर गए। जहाँ आफ्नो कुराहरु राखेपछि रमेश सरले नै त्यसो भए निवेदन दिनु भन्नुभयो, अनि मैले निवेदन दिएको हुँ। त्यसपछि उक्त रेस्टुरेन्टको CCTV फुटेजहरु सबै निकालिएको छ। जहाँ के भएको हो सबै देखिएला नि होइन र?
खास कुरा यही हो, के इन्टेन्सन राखेर उनीहरुले रायमाझीको नम्बर मेरो फोनमा सेभ गरिदिए? अनुसन्धानबाट खुल्ला नि?”
यो पनि पढ्नुहोस्
अमेरिका बस्ने कांग्रेस नेताको दरबारमार्गमा रक्सी खाएर बितन्डा, ३ रेस्टुरेन्ट मजदुर थुनिए
