पर्सा — रिमा कुमारी यादवले आफ्नो चुनावी अभियानअन्तर्गत शुक्रबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन्। उनले पर्सागढी नगरपालिका वडा नं। ५ अन्तर्गत बहुअरावा र हर्दियामा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गरेकी हुन्।
घरदैलोका क्रममा उम्मेदवार यादवले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको गुनासो तथा सुझाव सुनेकी थिइन्। स्थानीय समस्याबारे जानकारी लिँदै उनले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन्।
उनले गुणस्तरीय शिक्षा, सहज तथा सुलभ स्वास्थ्य सेवा र आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा गोकर्ण पाठक, सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
