काठमाडौं । स्कुपखबरमा समाचार प्रकाशित भएपछि भिजिट भिसा दुरुपयोग प्रकरणमा अनुसन्धानको घेरामा तानिएका उपसचिव बर्दी तिवारीलाई ‘सुरक्षित अवतरण’का लागि म्याग्दी पठाइएको थियो । तर, अनुसन्धान चर्किँदै गएपछि उनी त्यहाँ पनि टिक्न सकेनन् । अन्ततः गृह मन्त्रालयले तिवारीलाई म्याग्दीको प्रमुख जिल्ला अधिकारी (सीडीओ)बाट फिर्ता बोलाएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार तिवारीलाई हाल मन्त्रालयको अतिरिक्त (जगेडा) समूहमा राखिएको छ । तिवारीलाई तानेर म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा मन्त्रालयका सूचना अधिकारी उपसचिव रवीन्द्र आचार्यलाई म्याग्दीको सीडीओ बनाएर पठाइएको छ ।
गत ३१ असारमा स्कुपखबरमा तिवारीमाथि भिजिट भिसा सेटिङ, अध्यागमनमा सरुवा-काज मिलाउने नाममा आर्थिक उठौती र शक्तिकेन्द्रको आडमा चलखेल गरेको विवरण सार्वजनिक भएको थियो । त्यसलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि विषयलाई औपचारिक छानबिनको दायरामा ल्याएको थियो ।
तर, अनुसन्धान चलिरहेकै अवस्थामा तिवारीलाई तत्कालिन गृहमन्त्री रमेश लेखकले सीडीओ बनाएर जिल्लामा पठाइनु स्वयं विवादास्पद बनेको थियो । गृह मन्त्रालयभित्रै ‘छानबिनबाट बचाउने उद्देश्यले सरुवा गरिएको’ भन्ने चर्चा चुलिएको थियो ।
तिवारीमाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सरुवा–काजमा हस्तक्षेप गरेको आरोप छ । विमानस्थल अध्यागमनमा विवादमा परेका अधिकांश कर्मचारीहरू उनकै सेटिङमा गएको भन्दै गृहका कर्मचारीहरू असन्तुष्ट छन् ।
अनुसन्धानले गति लिँदै गएपछि अन्ततः तिवारीलाई मन्त्रालयमै तानिएको छ । अहिले उनी निर्णयविहीन अवस्थामा जगेडामा राखिएका छन्, जसलाई गृह प्रशासनभित्र ‘अघोषित कारबाही’ का रूपमा हेरिएको छ ।
गृह मन्त्रालयभित्र प्रश्न उठ्न थालेको छ- शक्तिको आडमा उक्लिएका तिवारी अब कानुनी कठघरामा कहिले पुग्लान् ?
को हुन् तिवारी ?
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निजि सचिव बनेका तिवारी घुस असुलीको आरोपपछि प्रधानमन्त्री कार्यालयबाट हटाइएका थिए । पछि नयाँ दिल्लीस्थित नेपाली दूतावासमा सरुवा भएका उनी रमेश लेखक गृहमन्त्री बनेसँगै फेरि शक्तिको केन्द्रमा फर्किएका थिए ।
आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुँदा फेरि तिवारीलाई निजि सचिवमा राखेका थिए। लेखकसँग राम्रो सम्वन्ध भएका तिवारी दिल्लीबाट फर्कने वित्तिकै गृह मन्त्रालयमा आएका हुन्।
सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदादेखि हालसम्म उनले चितवनदेखि काठमाडौंको सामाखुसीसम्म घरघडेरी जोडिसकेका छन् ।
चितवनदेखि काठमाडौंको सामाखुसीसम्म घरघडेरी जोडेको चर्चा चलिरहेका बेला भिजिट भिसा प्रकरणले तिवारीको प्रभावमा पहिलो पटक ठूलो ब्रेक लागेको छ ।
