काठमाडौं । यो कुरा हो एक जना उपसचिवको । प्रसंग हो उपसचिव भए पनि शक्तिको हालिमुहालि गर्ने अपराधि मनोवृत्तिको एक पात्रको ।
हाल गृहमन्त्रीका नीजिसचिव घर पर्वत रहेका उपसचिव दर्जाको बर्दी तिवारीको कर्तुत विस्तारै बाहिर आउँदैछ ।
यसअघि रमेश लेखक २०६४ सालमा श्रम राज्यमन्त्री हुँदा मन्त्रीसँग अन्तरङ्ग सम्बन्ध स्थापना गर्न सफल यिनी तत्कालिन समयदेखि नै मानव ओसारपोसारका तस्करहरुसँग नजिक रहदैँ आएका बताइन्छ ।
त्यतिबेला पनि तिवारीले म्यानपावर व्यावसायीहरुसँग बोरामा पैसा उठाउने गरेको अरोप लागेको थियो ।
अहिले पनि तस्कर र व्यापारीहरुको संगतमा ठूलाठूला होटलहरुमा जम्ने तिवारीजस्ता व्यक्तिको पन्जाबाट जहिलेसम्म शक्ति र सत्ता टाढा रहन सक्तैन्, तबसम्म कति गरिबका छोराछोरीहरु बेचिनपर्ने हो ? मुख्य दुःखको कुरा यो हो ।
सेटिङ मिलाउन खप्पिस केहि कर्मचारिकै करण आज गृह मन्त्रालय बद्नाम भएको छ । मन्त्री विवादित भएका छन् भने नेकपा एमाले र नेपाली कांग्रेस समीकरण समेत धरापमा परेको छ ।
मन्त्रालयभित्र मात्र नभइ नेपाल प्रहरी, सशस्त्र प्रहरी र अध्यागमन कार्यालय सबैतिर सेटिङ मिलाउन माहिर धमिरा हुन् यिनै तिवारी ।
यि धमिरा र अन्य केहि धमिराको घेरामा बसेर रमेश लेखक कति दिनसम्म चोखो रहन सक्थे ? आखिर मुछिहाले भिजिट भिसा प्रकरणमा ।
प्रहरीको जवान र हवल्दारको सरुवामा समेत भाग खोज्ने, एयरपोर्टको अध्यागमनमा काज र सरुवा गर्दा प्रिपेड र पोस्टपेड ५ लाख देखि १५ लाखसम्म नजरना लिई नाम हाल्न सिपालु तिवारी गृह मन्त्रालयबारे अनुभव शुन्य मान्छे हुन् ।
यिनकै समकालिनहरु यिनको पछिल्लो फुर्तिफार्ती देखेर चकित परेका छन् । ‘उठाउने र बुझाउने कामको उहाँलाई राम्रो अनुभव छ’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्–‘उनी आएलगत्तै गृहमा उनको तडकभडक देखिएको हो ।’
गृह मन्त्रालय मातहतका सबै निकायहरुमा कार्यरत कर्मचारीहरु हिजोआज अचाक्लि हस्तक्षेपको कारण आजित छन् । सानो सानो काममा भाग खोज्ने प्रवृत्ति र विश्वास नगर्ने बानीको कारण संगठनहरु निस्क्रिय र निराश छन् ।
जबसम्म अनुभवशुन्य तिवारीजस्ता माफियाहरुको चङ्गुलमा नेतृत्व र अख्तियारवाला रहन्छन् तबसम्म व्यवसायीकताको तेजोबध हुने गर्दछ । संगठनको मुल मर्म र मान्यताको धज्जी उड्ने गर्दछ ।
अख्तियार दुरुपयोग अनुसन्धानको राडारभित्र समेत परेका तिवारी कर्मचारी भन्दा दलको काममा लाग्ने झोले भएकै कारण सुरक्षित रहदै आएका छन् ।
सहसचिव तिर्थराज भट्टराई र हाल अनुसन्धानमा परेका अन्य कर्मचारीहरु समेतले नाम लिएका र शक्तिशालि पात्रहरु मध्येका यिनी कहिले फन्दामा पर्छन् ? त्यो हेर्न यतिबेला गृहका कर्मचारीहरु लालायित देखिन्छन् ।
भिजिट भिषा प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख भट्टराई पनि तिवारीका अतिनिकट मानिन्छन् । तिवारी लामो सयमदेखि शक्तिकेन्द्रसँग निकट भएर अनेक धन्दामा संलग्न कर्मचारी हुन् ।
अध्यागमन कार्यालय एयरपोर्टमा विवादस्पद ८० प्रतिशत कर्मचारीहरु यिनकै सेटिङमा गएर समस्यामा परिसकेका छन् ।
तिनकुनेको सिद्दार्थ र सिंहदरबारको बसेरामा मुद्दा मिलाउन भनेर तिवारीको समूह थैली जोरजाममा लागेको समेत स्रोत बताउँछ । जसमा तिवारीको पनि भविष्य जोडिएको बताइन्छ । कुनै क्षेत्री थरका मध्यस्तकर्तामार्फत विभिन्न ठाउँमा पुग्ने गरेका यो समूहले अख्तियारकै सचिवमार्फत सफलता पाउने गफ हान्ने गरेको बताइन्छ ।
मन्त्रीलाई समेत गुमराहमा राख्ने मण्डलीका मुख्यपात्र तिवारी जस्ता मान्छेको कारण आज मन्त्रालय र तलका संस्थाहरुमा दुरी बढेको छ । प्रहरीका हाकिमहरुले सलाम बजाउन भन्ने सोच राख्ने तिवारी जस्तालाई अख्तियारले हत्कडि लगाएर घिसार्दै गर्दा सिपाही कति शक्तिशालि रहेछ भन्ने थाहा पाउने छन् कि ?
हाल यिनकै कारण नेपाल प्रहरीको इन्स्पेक्टरदेखी एसएसपी बढुवा समेत रोकिएको छ । केही दिनअघि उनै तिवारीलाई आईजीपी दिपक थापाले समेत हप्काएका थिए । ३० वर्ष प्रहरीमा जागिर खाइसकेर पनि मेरो संगठनबारे तपाईलाई भन्दा बढी मलाई थाहा छ भन्दै आईजीपीले तिवारीलाई हप्काएका हुन् ।
चितवनदेखि काठमाडौंको सामाखुसीसम्म घरघडेरी
तिवारी शाखा अधिकृत हुँदा गृहमन्त्री लेखकको गृहजिल्ला कञ्चनपुरमा बसेका थिए । त्यहाँ हुँदा लेखकको स्वार्थअनुसार काम गरेर विश्वास जितेका उनी त्यसयता लेखककै छत्रछायामा अकूत आर्जन गरिसकेका छन् ।
सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदादेखि हालसम्म उनले चितवनदेखि काठमाडौंको सामाखुसीसम्म घरघडेरी जोडिसकेका छन् ।
तिवारी यसअघि २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा निजि सचिवको भूमिकामा थिए । त्यो बेला पनि विभिन्न मान्छेहरुसँग मोलतोल गर्दै घुस माग्न थालेपछि २०७९ सालमा देउवा प्रधानमन्त्री हुँदा तिवारीलाई प्रधानमन्त्री कार्यलयबाट हटाएका थिए ।
तिवारीलाई प्रधानमन्त्री कार्यालयबाट हटाएपछि ‘मेरो सम्मानजनक बहिर्गमन’ गरिदिनु प¥यो भन्दै रोईकराई गरेपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्युलरको रुपमा उनको सरुवा गरिएको थियो ।
आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुँदा फेरि तिवारीलाई निजि सचिवमा राखेका हुन्। लेखकसँग राम्रो सम्वन्ध भएका तिवारी दिल्लीबाट फर्कने वित्तिकै गृह मन्त्रालयमा आएका हुन्।
तिवारीले अहिले उनी आउँनुभन्दा अघि सरुवा भएका अध्यागमन कार्यालयका कर्मचारीहरुलाई बानेश्वरको इन्द्रेणी फुडल्याण्याड रेष्टुरेन्टमा बोलाएर पैसा माग्ने गरेको आरोप छ ।
