काठमाडौं । सिद्धार्थ बैंक एनपीएलमा सुदूरपश्चिम रोयल्स अहिले पूर्ण रूपमा ‘अन फायर’ छ। कप्तान दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा टिमले खेलेका सबै ६ खेल जित्दै एक्लो अपराजित टोली बनेको छ। ब्याटिङ, बलिङदेखि फिल्डिङसम्म—टिमले हरेक विभागमा दमदार प्रदर्शन गर्दै प्लेअफ र शीर्ष २ स्थान दुवै सुरक्षित गरिसकेको छ।
चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिमले पहिलो ओभरबाटै दबाब बनायो। क्रिस लिनको ५६ बलमा ७५ रन, आरिफ र दीपेन्द्रका अविजित २४–२४ रनले टिमले १७० रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। बलिङमा भने पुनित मेहराले डेब्यूमै ३ विकेट लिए, कडा फिल्डिङका कारण ३ रनआउट पनि निकालियो। चितवन १७ बल बाँकी छँदा १२० रनमै समेटियो।
कप्तान दीपेन्द्रले बल्ल–बल दुवैमा योगदान त दिए नै, उनको डाइरेक्ट–हिट रनआउट र ट्रेडमार्क समरसल्टले टीयू मैदान झनै गुन्जायमान बनायो। प्रशिक्षक जगत टमाटाले उनलाई ‘गड गिफ्टेड’ खेलाडी भन्दै खुलेर प्रशंसा गरे- ‘उसको ऊर्जा फरक छ, यस्तो प्लेअर जन्मिन गाह्रो पर्छ।’
विदेशी–नेपाली खेलाडीहरूको तालमेल, टिमवर्क र फ्यानहरूको अपार समर्थनले सुदूरपश्चिम अहिले एनपीएलको सबैभन्दा मजबुत दावेदार देखिएको छ। अझ एक खेल बाँकी छ- तर टिमले पहिले नै आफूलाई ‘फाइनल फेभरेट’ सिद्ध गरिसकेको छ।
