चितवन । ट्राफिकभित्र वर्षौंदेखि जरा गाडेर बसेको सञ्जाल, पहुँच र मनपरी फेरि एकपटक सतहमा आएको छ। स्कुपखबरले दुई दिनदेखि सार्वजनिक गर्दै आएको खुलासालाई पुष्टि गर्ने नयाँ सूचनाले देखाएको छ- चितवन ट्राफिकमा आदेशभन्दा अन्तर्याली चलनचल्ती धेरै प्रभावशाली हुन पुगेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत सहायक हवल्दार लेखनाथ पोखरेल र हवल्दार कल्पना पौडेललाई ट्राफिक भित्र ‘हस्ती’का नामले चिनिन्छ। साधारण भाषामा भन्नुपर्दा जिल्लाको चलायमान शक्ति हाकिम होइन, उनीहरू नै हुन्।
चितवन ट्राफिकमै कार्यरत एक प्रहरी भन्छन्, ‘कोही कसैलाई जहाँ-कहीँ सरुवा गर्नुपरे पनि यी दुईमध्ये एकजनालाई नदेखी कुरा नै टर्दैन। मानौं जिल्लाको प्रशासनिक चाबी उनीहरूकै हातमा छ।’
हालका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल थापा छन्। इन्सपेक्टर थापाले भनेअनुसार नै उनीहरुले काम गर्ने गरेका छन्। कार्यालयबाहिर असुली धन्दाको लागि आफ्नो कोर टिम बनाएर परिचालन गर्ने गरेका इन्स्पेक्टर थापाले कार्यालयभित्रको जिम्मा दुई हवल्दारलाई दिएका हुन्।
यो पनि पढ्नुहोस्
अर्को शक्तिशाली नाम बाबुराम न्यौपाने। जो ६ महिनाअघि मात्रै असई बनेका हुन् तर वर्षौंदेखि चितवनमै ‘प्रभावशाली’ रूपमा कार्यरत छन्। चितवनका गल्लीदेखि मुख्य नाकासम्म उनको पकड रहिआएको बताइन्छ। करिब २ वर्ष जुगेडी बस्दा ठाउँको हरजसो चलनचाहन उनकै माध्यमबाट हुन्थ्यो।
असई भएपछि उनलाई मुग्लिन सरुवा पठाइयो। तर त्यहाँ पनि उनी हाकिमको प्रिय पात्र बनिरहेका छन्।
यस्तै गोन्द्राङ ट्राफिक पोष्टका इन्चार्ज असई बिदुर नेपाली ‘असुलीमा माहिर’ भनेर चिनिन्छन्। उनी यसअघि २१ महिना लोथरमा बसेर, टाँडी सरुवा हुँदै पुनः गोन्द्राङमा फर्किन सफल भएका छन्।
उनी पनि चितवन ट्राफिक बसेर धेरैभन्दा धेरै फाइदा लिनेमा पर्छन्। इन्स्पेक्टर थापाका विश्वासपात्रका रुपमा चिनिएका नेपालीले भनेअनुसार प्रशासनिक कामहरु जिल्लाबाट तुरुन्तै हुने गरेको बताइन्छ । त्यसैले उनको पनि दबदबा छ।
१५ वर्षदेखि ‘राजगज’ गर्ने बलियो घेरा
चितवन ट्राफिकमा १५ वर्षभन्दा बढी रोकिएका प्रहरीहरूको स्थायी जालो पनि उत्तिकै शक्तिशाली छ। सरुवा आदेश आए पनि फोन-पावर, मिलेमतो र सिफारिसमार्फत पुनः चितवनमै फर्कने उनीहरूको शैली वर्षौंदेखि दोहोरिँदै आएको छ।
ट्राफिक प्रहरीमा १५ वर्षभन्दा बढी समय कार्यरत जनशक्तिलाई अन्यत्र सरुवा गरिने भनिएको छ। तर, १५ वर्ष ट्राफिकमै जागिर खानेहरु चितवनमा छ्यापछ्याप्ती छन्। जसले गर्दा यो जालो झनै फैलिने डर छ।
त्यसैले चितवन ट्राफिकमा ‘नियमभन्दा नेटवर्क बलियो’ भन्ने टिप्पणी अधिकारीहरूकै बीच चल्ने गरेको छ।
यो पनि पढ्नुहोस्
न्यौपाने-हाकिमको सम्बन्ध
असई न्यौपानेसँग व्यक्तिगत स्कारपियो छ। त्यही गाडी हाकिमलाई उपलब्ध गराएर सम्बन्ध मजबुत बनाउनु उनको मुख्य ‘रणनीति’ मानिन्छ।
अघिल्ला हाकिम गायत्रीराज शर्मा भारत जाँदा समेत न्यौपानेकै स्कारपियो लिएर गएका थिए। अहिलेका हाकिमले पनि टाढाका सबै यात्रामा उही स्कारपियो प्रयोग गर्ने गरेको स्रोतहरू बताउँछन्।
२ दिनदेखि सतहमा आएका आरोपहरूलाई अझै बलियो बनाउने नयाँ खुलासा
स्कुपखबरले चितवन ट्राफिकमा हुने अवैध असुली, मनोमानी सरुवा र सञ्जाल-शक्तिबारे दुई दिनयता उजागर गर्दै आएको तथ्यमा यी नयाँ विवरणले थप पुष्टि गरेको छ।
जिल्लामा सञ्जाल जति बलियो हुँदै गएको छ, ट्राफिक सेवा सार्वजनिक हितभन्दा सम्बन्ध केन्द्रित बन्दै गएको स्थानीय व्यवसायीहरूको आरोप छ।
पछिल्लो समय चितवन ट्राफिक प्रहरीभित्र सङ्गठित प्रभाव समूह सक्रिय रहेको दाबी झनै विश्वसनीय हुँदै गएको छ। अहिले चितवनका सर्वसाधारण, चालक तथा स्थानीय व्यवसायीहरूको एउटै प्रश्न- ‘यति बलियो जालो तोड्ने जिम्मा कसले लिन्छ ?’
यदि स्कुपखबरका पछिल्ला उजागरहरूलाई गम्भीर रूपमा नलिए, चितवन ट्राफिकको ‘सञ्जाल शासन’ अझै बलियो हुँदै जाने चिन्ता स्थानीयमा बढ्दै छ।
