काठमाडौं । नयाँ मोटरसाइकल किनेर खुसी साटेको भोलिपल्टै नेपाल प्रहरीमा कार्यरत लोकेश भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
डडेल्धुराको अजयमेरु गाउँपालिका–१ का भण्डारीको नारायणगढ–कावासोती सडकखण्डमा ट्याक्टरको ठक्करबाट ज्यान गएको हो ।
उनले दुर्घटनाको अघिल्लो दिन मात्रै नयाँ मोटरसाइकल खरिद गरेका थिए । नयाँ मोटरसाइकलसँग खिचेको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘निङ्लाशैनीमा डाँडा बाघ बाबा, विश्वकर्मा बाबा रक्षा गर्नु ।’
तर, नयाँ मोटरसाइकल चढ्ने उनको खुसी लामो समय टिक्न सकेन । बाइक किनेको भोलिपल्टै भएको दुर्घटनामा उनको ज्यान गएपछि फेसबुकमा लेखेको उक्त स्टाटस नै अन्तिम सन्देश बन्न पुगेको छ ।
नारायणगढबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशामा गइरहेको ट्याक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
भण्डारीका श्रीमती र तीन महिनाकी छोरी छन् । परिवारको खुसी र भविष्यका अनेक सपना बोकेका भण्डारीको असामयिक निधनले परिवारजन तथा आफन्त शोकमा परेका छन् ।

