काठमाडौं । अमेरिकी नागरिक महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाली सेनाका मेजर अनिलबहादुर बस्नेत पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले गत साता उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
बस्नेतमाथि गत असोज ३ गते काठमाडौंको ठमेलस्थित एक होटलमा अमेरिकी नागरिक महिलामाथि बलात्कार गरेको आरोप छ। घटनाको करिब एक सातापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार घटनाको तीन दिनपछि पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीका आधारमा प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान पूरा भएपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोगपत्र दायर गरिएको थियो।
अनुसन्धानका क्रममा घटनाको राति बस्नेत र ती महिला ठमेलस्थित एक रेस्टुरेन्टमा अबेरसम्म बसेको खुलेको थियो।
त्यसपछि उनीहरू बिहान करिब ३ बजे ठमेलको ज्याठास्थित एक होटल पुगेका थिए। बस्नेत बिहान करिब ६ बजे होटलबाट बाहिरिएका थिए भने ती महिला दिउँसो मात्रै होटलबाट निस्किएकी थिइन्।
पीडित महिलाले होटलमा बसेकै क्रममा आफूमाथि बलात्कार भएको जाहेरीमा उल्लेख गरेकी छन्। प्रहरी अनुसन्धानमा उनीहरूबीच घटनाभन्दा केही दिनअघि मात्रै चिनजान भएको खुलेको छ।
मेजर बस्नेतले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै प्रहरीसमक्ष इन्कारी बयान दिएका थिए। तर, अदालतले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म उनलाई थुनामै राखेर पुर्पक्ष गर्ने आदेश दिएको हो।

