काठमाडौं । राजधानी नजिकैको थानकोट क्षेत्रमा खुल्लामखुल्लै चोरीको पेट्रोल र डिजेल किनबेच हुने गरेको पर्दाफास भएको छ ।
मकवानपुरमा ट्यांकरबाट अवैध रूपमा पेट्रोल झिकेर बिक्री गर्ने चालकसहित ४ जना पक्राउ परेपछि यो ‘तेल चोरीको सञ्जाल’ राजधानीसम्म फैलिएको प्रमाण खुलेको हो ।
मकवानपुरको मनहरी गाउँपालिका–८ मा रहेको जय शिव शरणम् फ्युल सेन्टर प्रा.लि. मा आइतबार ना४ख ९३७७ नम्बरको ट्यांकरबाट पेट्रोल झिक्दै गरेको अवस्थामा चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त ट्यांकर बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगम डिपोबाट पेट्रोल लोड गरी थानकोट डिपो पुग्ने क्रममा थियो । तर बीचमै ठूलो परिमाणमा तेल झिकेर बेच्ने क्रममै उनीहरू समातिएका हुन् ।
स्थानीय स्रोतका अनुसार पछिल्ला वर्षहरूमा धेरै ट्यांकर चालकहरूको मुख्य धन्दा नै ‘तेल चोरी र अवैध बिक्री’ बनिसकेको छ । कोहीले बाटोमै पेट्रोल–डिजेल निकालेर बेच्ने गर्छन् भने कोही थानकोट पुगेर चिनजानका पेट्रोल पम्पमा ‘डिल’ गर्ने गर्छन् ।
थानकोट र वरपरका केही पम्पहरूले चोरीको तेल आधा मूल्यमा खरिद गरी सरकारले तोकेको दरमै सर्वसाधारणलाई बेच्ने गरेको आरोप छ । हरेकदिन १५०० देखि २००० लिटरसम्म तेल चोरी हुने गरेको बताइन्छ ।
यो गम्भीर अनियमिततामाथि नियमन निकाय भने मौन छ । स्थानीयहरू भन्छन्, ‘खुल्ला सडकमा नै ट्यांकरबाट तेल निकालिन्छ, प्रहरी देख्दैन, निगम बोल्दैन।’
यसरी चोरी गरिएको दृश्य समावेश गरिएको भिडिओ स्कूपखबरले प्राप्त गरेको छ, जसमा चालकले खुलेआम पेट्रोल निकाल्दै बिक्री गरिरहेको देखिन्छ । भिडिओले थानकोट क्षेत्रमा पेट्रोल चोरी र कालोबजारीको जालो कति गहिरो छ भन्ने स्पष्ट देखाउँछ ।
नेपाल आयल निगमका एक अधिकारीले भने, ‘तेल चोरीका घटनामा हाम्रो पनि ध्यान गएको छ, सम्बन्धित क्षेत्रका डिपो र ट्यांकरहरूमाथि छानबिन सुरु भएको छ,’ भन्दै दोषीमाथि कानुनी कारबाही हुने बताए ।
हेर्नुहोस भिडिओ
https://www.facebook.com/share/r/1BMiGEGDf2
![थानकोटमा खुल्लमखुल्ला चोरीको पेट्रोल–डिजेल किनबेच [भिडिओसहित]](https://scoopkhabar.com/wp-content/uploads/2025/11/collage-1-1024x768.jpg)